कर्णाली राजमार्ग अन्तरर्गत तातोपानी खण्डमा गरिएको ग्राभेल सडक । तस्बिरः कर्णाली मिसन
जुम्ला । कर्णालीको विकास र समृद्धीको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नति अघि बढेको छ । जुम्ला–सुर्खेत २३२ किमी दुरी रहेको कर्णाली राजमार्ग अन्तरर्गत विभिन्न खण्डमा स्तरोन्नतिको काम भईरहेको हो । राजमार्गको विभिन्न खण्डमा डबल कटिङ,ग्राभेल,कालोपत्रे लगायतका सुधारका काम भई रहेका छन् । कर्णाली राजमार्गको कालीकोट र दैलेखको सीमानाका दहीखोला–खुलालु खण्डलाई फराकिलो बनाउन डबल कटिङको काम थालिएको छ । निकै साँघुरो मानिने सो खण्ड फराकिलो बनाउने काम थालिएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दहीखोलादेखि खुलालु कर्णाली कोरिडोर क्षेत्र र जुम्ला सडकको करिब तीन किलोमिटरमा फराकिलो बनाउने डबल कटिङ काम भइरहेको डिभिजन प्रमुख दीपेन्द्र चौधरीले बताए । उनका अनुसार उक्त खण्डको तीन किलोमिटरको डबल कटिङ गर्ने लक्ष्य राखिएको छ ।
कर्णालीको विकासको मेरुदण्ड मानिएको राजमार्ग २०७९ को भिषण बाढी पहिरोपछि सडकमा ठुलो क्षति भएको छ । त्यतिबेला क्षति भएको राजमार्ग अझै लयमा आउन सकेको छैन् । धेरै ठाउँमा अहिले पनि जोखिम कायमै छ ।
सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी प्रदीपकुमार चौधरीले दहीखोलादेखि खुलालु क्षेत्रको पाँच करोडको ठेक्का आह्वान डबल कटिङको काम भईरहेको बताए । उनका अनुसार सडक डबल कटिङ गर्नका लागि १० करोड बजेट विनियोजन भएकोमा पहिलो चरणमा पाँच करोडको ठेक्का आह्वान भई काम भएको छ ।
डबल कटिङपछि उक्त सडक नौ मिटर चौडा बनाईने छ । सड्क डिभिजनका अनुसार सो कार्यका लागि (गुरा सेवा निर्माण) कम्पन्नीले जिम्मा पाएको छ । निकै कठिन मानिने सो क्षेत्रमा सडक डबल कटिङ, स्ट्रक्चर बनाईने छ । कार्यालयका अनुसार कर्णाली राजमार्ग नाग्म–जुम्ला खण्डमा समेत मर्मत भइरहेको छ ।
सो खण्डका लागि १० करोड बजेटमा काम गर्न सम्झौता भएको छ । डिभिजन कार्यालयले कालीकोट र जुम्लाको सीमा नाग्मदेखि जुम्ला सदरमुकामसम्म फराकिलो बनाउने काम भइरहेको छ ।
यता कर्णाली राजमार्गको नाग्म–जुम्ला खण्डको रारा,त्रिवेणी,लिताकोट र जर्मी क्षेत्रमा कालोपत्रेको काम सुरु गर्न लागिएको छ । गत वर्षनै डबल कटिङ भईरहेको उक्त खण्डमा अहिले ग्राभेल सम्पन्न गरी कालोपत्रे गर्ने तयारी भईरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए ।
उनले भने,‘नाग्म–जुम्ला खण्डको विभिन्न भागमा ग्राभेल गरेर सकिएको छ । विगतमा निधै सास्ती पूर्ण उक्त सडक खण्डमा ग्राभेलपछि निकै सहज भएको छ । अब तत्काल कालोपत्रेको काम अघि बढी रहेको छ ।’ विगतमा निकै सास्ती हुने सडकमा अहिले निकै सहज भएको स्थानीय लोक बहादुर दमाईले बताए । उनले ग्राभेलपछि धुलो धुँवा बढ्दै गएकोले कालोपत्रे छिटो भन्दा छिटो गर्नुपर्नेमा जोड दिए ।
जुम्ला खण्डमा कालापत्रेको लागि ग्राभेलको काम अन्तिम चरणमा हुँदा उता रारा जाने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक कालोपत्रे काम भने रोकिएको छ । बजेट अभावका कारण कालोपत्रे कार्य रोकिएको सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । बजेट माग गरेपनि समयमै बजेट नआएका कारण काम प्रभावित भएको छ । बजेट अभावले नाग्म–गमगढी राजमार्ग कालोपत्रे पूरा हुन सकेको छैन । कालोपत्रेका लागि कार्यालयले ३५ करोड बजेटको अनुमान गरेको छ । सो राजमार्ग अन्तर्गत करिब साढे ६ किलोमिटर कालोपत्रे भएको छ ।



