विज्ञान प्रदर्शनी मेलामा कर्णाली मावि अनामनगर पहिलो

जुम्ला – जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम कर्णाली माध्यामिक विद्यालय अनामनगर प्रथम भएको छ । मालिका माध्यामिक विद्यालय धाँपा दोस्रो स्थानमा आएको छ । सामाजिक विकास कार्यालय जुम्लाको आयोजनामा भएको कार्यक्रमले विद्यार्थीको नवप्रवर्तन र प्रतिभालाई प्रोत्साहन कार्यक्रममा विज्ञान र प्रविधिमा आधारित समाधानहरू प्रस्तुत गर्दै कर्णाली मावि पहिलो भएको हो ।


कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयबाट तीनवटा टोलीले सहभागिता जनाएका थिए । मूल्यांकन समितिका संयोजक कृष्ण बहादुर रोकायाका अनुसार सामग्री बनावट, उपयोगिता, स्थानीय र प्रयोगविहीन सामग्रीको प्रयोग, नवीनता, र प्रस्तुति शैलीजस्ता पाँचवटा सूचकका आधारमा परियोजनाको मूल्यांकन गरिएको थियो ।
तोकिएका मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णाली माध्यमिक विद्यालय, अनामनगरले प्रथम भएको छ । विद्यालयले प्रस्तुत गरेको परियोजना दैनिक जीवनमा प्रयोग गर्न सकिने, स्थानीय स्रोतसाधनमा आधारित, र वातावरणमैत्री रहेको मूल्यांकन समितिका संयोजक रोकायाले बताए । दोस्रो स्थान मालिका मावि, धाँपा र भैरव मावि, नराकोटले संयुक्त रूपमा प्राप्त गरेका छन् । तेस्रो स्थान कनकासुन्दरी गाउँपालिकास्थित पाण्डवगुफा मावि, कोटघरले हासिल गरेको छ ।


सहभागी विद्यार्थीले ग्रामीण क्षेत्रमा सजिलै प्रयोग गर्न सकिने प्रविधि र व्यावहारिक समाधानहरू प्रस्तुत गरेका थिए, जसले जुम्ला जस्ता दुर्गम क्षेत्रमा समेत प्राविधिक सम्भावनालाई उजागर गरेको छ ।
सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले विज्ञान र प्रविधिको माध्यमबाट सामाजिक रूपान्तरण सम्भव रहेको बताए । उनले भने, यस्ता कार्यक्रमले विद्यार्थीलाई अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्दछ ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले जुम्ला जस्तो दुर्गम जिल्लामा विज्ञान र प्रविधिमार्फत विकास र सहज जीवनशैलीको सम्भावना रहेको बताउँदै विद्यार्थीको प्रयास प्रशंसा योग्य छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस