जुम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा पाेषिलाे दिवा खाजा खुवाउने तयारी गरेकाे छ । सबै सामुदायिक विद्यालयकाे आधार तह कक्षा १ देखि ५ सम्मका बालबालिकालाई रैथाने बालीमा आधारित दिवा खाजा खुवाउने गरि चन्दननाथ नगरपालिकाले तयारी थालेकाे हाे ।
साेही तयारी अनुरुप नगरपालिकाले दुइ दिने पोषिलो दिवाखाजा तयारी सम्बन्धि तालिम आयाेजना गरेकाे छ । नगरपालिका भित्र रहेका विद्यालय सहयोगीहरुलाई उक्त तालिम दिइएको हो ।
नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाइले नगरपालिका भित्रका ३१ वटै सामुदायिक विद्यालयका सहयोगी र बालविकास केन्द्रका सहकर्ताहरुलाई तालिम दिइएको बताए । तालिममा पाेषिलाे खाजाबारे सिकाईएकाे छ ।
कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा परियोजना अन्तर्गत स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम विश्व खाद्य कार्यक्रमको साझेदारीमा चन्दननाथमा संचालन भईरहेकाे छ ।
पाेषिलाे दिवा खाजा कार्यक्रम संचालन पश्चात् रैथाने बालीकाे उपभाेग संगै बालबालिकाकाे पाेष स्थितीमा समेत सुधार आउने चन्दननाथ नगरपालिकाकाे अपेक्षा छ ।
दुई दिने तालिमकाे समापनमा सहभागी चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत,उपमेयर रामदेवी खड्का,प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बढ्थापाले पाेषिलाे दिवा खाजाकाे दिगाे व्यवस्थापन र निरन्तरतामा जाेड दिनु पर्ने बताए । सबैकाे सहयाेगमा पाेषिलाे दिवा खाजा कार्यक्रम सफल हुने अपेक्षा गरिएकाे छ ।
कृर्षक समूह तथा कृषि सहकारीहरुलाई दिवा खाजा संग जाेडेर अघि बढ्ने तयारी रहेकाे प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए ।



