सामुदायिक विद्यालयलाई राजनीति मुक्त बनाउनु पर्नेमा जोड

सार्वजनिक शिक्षा सुधारका प्रयास र चुनौती शत्रका वक्ता र सहजकर्ता । तस्बिरः कर्णाली मिसन

जुम्ला । जुम्लाका सरोकारवालाले शिक्षा क्षेत्रमा राजनीतिको अन्त्य हुनु पर्नेमा दलहरुको ध्यानर्कषण गराएका छन् । जुम्लामा मंगलबार संचालित सार्वजनिक शिक्षा सुधारका लागि बृहत्त शैक्षिक बहस कार्यक्रममा सहभागीहरुले वक्ताहरुलाई सामुदायिक विद्यालयमा राजनीति मौलाएको र त्यसका अन्त्यका लागि दलहरु विमुख भएको बताएका हुन् ।

आधारभूत,माध्यमिक देखी क्याम्पस सम्मका सबै क्षेत्रका परिक्षामा अनियमितता हुने गरेको गुनासो पोखेका हुन् । कर्णाली मावि अनामनगरका शिक्षक देवेन्द्र तिमिल्सीनाले सामुदायिक विद्यालयलाई राजनीतिमुक्त बनाउन दलहरु तयार हुनु पर्ने बताए । दलहरुकै कारण विद्यालयमा राजनीति मौलाएको छ । उनले भने,‘शिक्षक सरुवा गर्नका लागि राजनीति हुने,परिक्षा प्रणालीमा उस्तै राजनीति हुने गन्ध आउने कहिले सम्म ? अब दलहरुले सार्वजनिक शिक्षा सुधारका लागि दलहरु प्रतिबद्ध हुनु पर्छ ।

शत्रमा बोल्ने बक्ता नेपाली काँग्रेसका कार्यबाहक सभापति कार्मा बुढा,सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण प्रसाद धिताल,जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले कुनै एक दल,निकायले चाहेर शैक्षिक अबस्था सुधार सम्भव नरहेको बताए । यदपी सबैको एकताले शिक्षा क्षेत्रमा देखिएका अनियमितताहरु अन्त्य गर्न सकिनेमा विश्वास व्यक्त गरे । क्याम्पस प्रमुख खत्रीले शिक्षा क्षेत्र सुधारका लागि परिक्षा प्रणालीनै सुधार गर्नुपर्ने उल्लेख गरे । सिंजाका अध्यक्षका पूर्ण प्रसाद धितालले पनि परिक्षा प्रणाली सुधारमा जोड दिए । सबैको साथ पाए पालिका शिक्षा क्षेत्र सुधारमा निर्मम बन्ने दाबी गरे ।

स्थानीयतहरुले पहल चालेमा दलहरुले पूर्ण रुपमा साथ दिने काँग्रेस कार्यबाहक सभापति कार्मा बुढाको भनाई छ । पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले गैरसरकारी क्षेत्रमाबाट सार्वजनिक शिक्षा सुधार तथा पूर्वाधार निर्माणका क्षेत्रमा भएका कामहरुलाई स्थानीयतहले स्थायीत्व दिनुपर्ने बताए । बहस तथा छलफलमा सबैले राम्रो गरेको छु भन्ने परिपाटी भएपनि व्यवहारमा राम्रो गर्न सबै चुकेको तर्क राखे ।

मलिका माथि धाँपाका शिक्षक परेकराज खत्रीले स्थानीयतहले शिक्षा क्षेत्रमा अपेक्षित बजेट विनियोजन नगर्दा समस्या रहेको बताए । अन्य पालिकाको तुलनामा सिंजाले शिक्षामा प्रथामिकता दिएपनि अपेक्षानुसार भने विनियोजन नभएको उल्लेख गरे ।
साथै सहभागीले शिक्षक सरुवामा लेनदेन हुने गरेको गुनासो आएपछि सिंजाका अध्यक्ष धितालले सिंजामा शिक्षक सरुवाका नाममा कतै लेनदेन भएको प्रमाण भेटिए अध्यक्ष पदनै त्यागि दिने उल्लेख गरे ।

सार्वजनिक विद्यालयको अबस्था सुधारमा सर्वपक्षिय छलफल एकता जरुरी रहेकोमा बक्ताहरुले जोड दिएका छन् ।

प्रकाशित मिति : २०८२ असार ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस