स्टेचरकाे अभाव झेल्दै ताताेपानीका स्वयमसेविका

जुम्ला । ताताेपानी गाउँपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्टेचर अभावले विरामीकाे सेवा प्रवाहमा समस्या भएकाे गुनासाे गरेका छन् । प्रयाप्त स्टेचर नहुँदा विरामी पिठ्यूमा बाेकेर गाउँबाट सडकमा पुराउनु पर्ने बाध्यता रहेकाे गुनासाे गरेका हुन् ।

ताताेपानी गाउँपालिका स्वास्थ्य शाखाद्वारा ताताेपानी स्वास्थ्य चाैकीमा आयाेजित सामाजिक परिक्षण कार्यक्रममा सहभागी स्वयमसेविकाहरुले एक गाउँमा एउटा मात्रै स्टेचर दिँदा समस्या रहेकाे बताएकी छन् ।

एक गाउँमा ३/४ सय घरधुरी छ । २/३ जना स्वयम् सेविका छन् । तर स्टेचर एउटा मात्रै छ । ताताेपानी-१ बाईराँकाकी छुमकली सार्कीले भनिन,’राँँका र बाईराँका गाउँकाे गरि एउटा स्टेचर छ । एक गाउँ विरामी पर्दा अर्काे गाउँका स्टेचर हुन्न । विरामी बाेक्नु पर्ने बाध्यता छ । तत्काल स्टेचर चाहिन्छ ।’

दुई गाउँ एक स्टेचरका भरमा चलाउनु पर्दा निकै मुस्किल परेकाे छ । ताताेपानी स्वास्थ्य चाैकीकाे तथ्यांकनुसार छुमकली सार्की सबैभन्दा बढि सुत्केरी स्वास्थ्य चाैकी पुराउने स्वयम् सेविका हुन् । उनले यश वर्ष ९ जनालाई स्वास्थ्य चाैकी र ९ जनालाई कर्णाली प्रतिष्ठान पुराएर सुत्केरी गराएकी छन् ।

सबैभन्दा बढी सुत्केरी गराउन आफू सफल भएपनि स्टेचरकाे अभावले निकै समस्या रहेकाे बताईन् । त्यस्तै ताताेपानी-३ लिताकाेटकी विमला परियारले साविक ३ वटा वडा रहेकाे लिताकाेट गाउँमा एउटा मात्रै स्टेचर रहेकाे बताईन् ।

लिताकाेट गाउँमा ९ जना स्वयम् सेविका छन् । तर स्टेचर एउटा मात्रै छ । प्रत्यक स्वयम् सेविकाकाे जिम्मेवारीमा रहने गरि स्टेचर दिनु पर्ने उनकाे माग छ।

त्यस्तै हाँकु स्वास्थ्य चाैकी र लाम्रा स्वास्थ्य चाैकीमा सम्पन्न सामाजिक परिक्षण कार्यक्रम पनि स्वयम सेविकाले स्टेचर अभावकाे समस्या सुनाएका थिए ।

ताताेपानी गाउँपालिका ८ वटा वडामा ६७ जना स्वयम् सेविका रहेका छन् । तर स्टेचर भने प्रयाप्त दिईएकाे छैन् ।

ताताेपानी गाउँपालिकाका स्वास्थ्य शाखा संयाेजक गुरु प्रसाद चाैलागाँईले नयाँ २० वटा स्टेचर खरिद गरेर ल्याएकाेले वितरण गरिने बताए ।

उनले भने,’हामीले सबै गाउँमा पुग्नेगरी स्टेचर दिएका छाै । संरक्षणकाे अभावले गर्दा स्टेचर हराउने गरेका छन् । अब जिम्मेवारी ताेकेर हराएमा सम्बन्धित स्वयमसेविका जिम्मेवार हुने गरि वितरण गर्ने छाै ।’

त्यस्तै ताताेपानी-३ का वडाध्यक्ष गाेकर्ण रावलले स्टेचरकाे समस्या समधानका लागि स्वास्थ्य शाखामा समन्वय गर्ने बताए । सिमित स्राेत साधन हुने भएकाले सबै क्षेत्रमा काम गर्न कठिन रहेकाे उनकाे भनाई छ ।

ताताेपानी गाउँपालिकाकाे स्वास्थ्य शाखाले पालिकास्तर रहेका स्वास्थ्य चाैकी हरुकाे सेवा सुधार तथा समस्याहरु समधान गर्न हरेक वर्ष सामाजिक परिक्षण कार्यक्रम गर्दै आएकाे छ ।

पालिकाका हाँकु,लाम्रा,ताताेपानी र ताम्ती स्वास्थ्य चाैकीकाे सामाजिक परिक्षण कार्यक्रमकाे सहजीकरण गिडिदह मिडिया प्रा.लिले गरिरहेकाे छ ।

प्रकाशित मिति : २०८२ असार १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस