विपद् जोखिम न्यूनिकरणको लागि सडक नाटक

कालिकोट – विपद जोखिम न्यूनिकरणका लागि अहिले तिलागुफा नगरपालिकामा सचेतनामूलक सडक नाटक हुन थालेका छन् । मापदण्ड विपरित बनेका र निर्माण चरणमा रहेका भौतिक संरचनाले निम्त्याउन सक्ने क्षति र यसको न्यूनिकरण गर्नका लागि अपनाउनु पर्ने उपायका बारेमा कालिकोट जिल्लाको तिलागुफा नगरपालिकाका अन्र्तगत वडामा रहेका बिद्यालय स्तरिय बाल क्लबमार्फत सडक नाटक मार्फत सचेतना ल्याउने कार्यको थालनी भएको छ । भौतिक संरचना निर्माण गर्दा भूकम्प प्रतिरोधी भवन निर्माण आचार संहिता लागू गर्नुपर्ने विषयमा सबैलाई जानकारीका लागि सडक नाटक कार्यक्रममार्फत समुदायलाई सचेतना स्वरुप अगाडी बढार्ईको छ ।
उक्त कार्यक्रम कारितास जर्मनी र कारितास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा संचालित मानबिय सहायता तथा बिपद् पुर्ब तयारी (उत्थान) परियोजनामार्फत कालिका माध्यामिक बिद्यालय तिलागुफा ४ राँचुलीमा प्रदर्शन गरिएको हो । अहिले गाउँ घरमा आफू खुसीले घर बन्न थालि सकेका छन् । सरकारको मापदण्ड एकातिर छ त्यसलाई अनुशरण गरेर घर बनाउने व्यक्ति गाउँमा धेरै कम मात्रामा फेला पर्छन् । तर यसतर्फ सरकारको ध्यान पुग्न नसकेकाले भूकम्प प्रतिरोधी भवन निर्माण आचार संहिता अनुरुप भवन निर्माण गर्नका लागि जनचेतना बढाउनका लागि जनचेतनामुलक सडक नाटक कार्यक्रम गरिएको हो । उक्त गाउँ २०७९ को बाढि पहिरोबाट तिलागुफाकै धेरै धनजनको क्षति भएको गाउँको रुपमा पनि रहेको छ ।
तिलागुफा नगरपालिकामा बिपद्को उच्च जोखिममा रहेको छ । यहाँ बर्षेनी हुने बिभिन्न बिपदले ठुलो धनजनको क्षति पुयाउने गरेको छ । यहाँका प्राय घरहरु भुकम्प प्रतिरोधात्मक मापदण्ड अनुसार बनेका छैनन । नयाँ बन्ने घरहरु पनि धमाधम बनि रहेका हुनाले बिपदको उच्च जोखिममा रहेको पाउन सकिन्छ ।
यस्तो अवस्थाले भविष्यमा झन ठूलो विपत्ति निम्त्याउने सक्ने दावी स्थानीयको छ । सडक नाटकमार्फत जनचेतना जगाउनाले बिकट बस्तीहरुमा सकरात्मक प्रभाव पर्न गई पुर्व तयारीका कार्य अगाडी बढन सक्छ । नाटक हेर्न गाउँ तथा बिद्यालयका भाईबहिनी र शिक्षकहरुको उल्लेखिय सहभागिता रहेको थियो । सडक नाटकमा विपदका प्रकार र विपद आइ हालेमा त्यसको लागि के–के तयारी अपनाउने भन्ने विषय वस्तु समेटिएको थियो । उक्त सडक नाटक अन्य बिद्यालयमा रहेका बालक्लबमा पनि प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति : २०८२ असार १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस