६ वटा नीतिसंगै तातोपानीको बजेट सर्वसम्मतले पारित

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका केही नीति र बजेट पारित भएको छ । गत असार १० गते सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक बजेट तथा अत्याआबश्यक नीतिहरु पारित गरिएको हो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईका अनुसार शुक्रबार सम्पन्न आठौ गाउँसभाको १७ औँ अधिवेशनबाट ६ वटा ऐन तथा कार्यविधि र बजेट सर्वसम्मत पारित भएको छ । जसमा आर्थिक ऐन–२०८२,तातोपानी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन–२०८२,तातोपानी गाउँपालिका लेखा समिति गठन तथा संचालन कार्यविधि–२०८२ पारित गरिएको छ ।

त्यस्तै,श्रम आप्रवासन नीति–२०८२,बेरुजु फर्छौट कार्यविधि–२०८२ र रोजगार रणनीति–२०८२ सहित ६ वटा ऐन,कार्यविधि र नीति पारित भएका हुन् । गत असार १० गते तातोपानी गाउँपालिकाले सार्वजनिक गरेको कूल ५१ करोड ५९ लाख ८२ हजार ४१२ रुपैया बराबरको बार्षिक बजेट पारित भएको छ ।

जसमा चालु खर्च तर्फ रु ३४ करोड १४ लाख १७ हजार ४ सय १२ विनियोजन गरी ६६.१६ प्रतिशत र पुँजीगत खर्च तर्फ १७ करोड ४५ लाख ६५ हजार विनियोजन गरी ३३.८४ प्रतिशत रहेको छ ।

दैनिकी कार्य सम्पादनलाई सहज तथा प्रभावकारी बनाउन आबश्यक नीति तर्जुमा गरी पारित भएपछि काम गर्न सहज हुने तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत बताउँछन् । जिल्लाका आठ पालिका मध्य सेवा प्रवाह,विकास निर्माण तथा सुशासनमा अब्बलता प्रर्दशन गरीरहेको तातोपानी जनपक्षिय कार्यसम्पादनका निम्ती अझै प्रयासरत देखिन्छ ।

प्रकाशित मिति : २०८२ असार २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस