जुम्ला – सिंजा गाउँपालिका जुम्लामा कार्यरत २४ जना करार कर्मचारीको सम्झौना नहुने भएको छ । शिक्षा तर्फका १६ जना शिक्षक र स्वास्थ्य तर्फका ८ जना स्वास्थ्यकर्मीको (कर्मचारी) करार सम्झौता नहुने भएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२÷०८३ को साउन १ गतेदेखि करार कर्मचारीको सम्झौता नगरिने प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बताए ।
उनले भने, कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १४ (१) बमोजिम र “स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली २०८१ नियम ११ को उपनियम (१) बमोजिम कुनै पनि ब्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्ति वा सम्झौता गर्न नपाइने व्यवस्था छ ।
पदरिक्त नभई पद सिर्जना नभई कर्मचारी नियुक्ति गर्नु हुदैन भन्ने व्यवस्था रहेको छ । उप दफा (१) विपरित कुनै कर्मचारी नियुक्ति गरी तलब, भत्ता र अन्य सेवा सुविधा वापतको रकम नियुक्ती गर्ने पदाधिकारी ÷अधिकारी सरकारी बाँकी सरह असुल उपर गरिने कानूनी व्यवस्था छ ।
स्वास्थ्य चौकी, आधारभुन स्वास्थ्य केन्द्र र विद्यालयमा समेत रहेका करार सेवाका कर्मचारीे स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा, ८३ (८) मा तोकिएका पदको हाजिर गर्न पाउने छन् । चालु आ.व. ०८१÷०८२ मा ज्यालादारी वा करार सम्झौता भई कार्यरत कर्मचारीहरुको २०८२ साउन १ गतेबाट अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्म हाजिर नगर्न÷ नगराउन सुचित गरिएको छ । कानुनको अबज्ञा गरी कुनै कर्मचारीले कार्यालयमा हाजिर गरेमा÷गराएमा स्वयंम् व्यक्ति नै जिम्मेवार हुने प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।



