जुम्ला । जुम्लाको सरकारी टोली भगवती पुजाका लागि बाजुरा स्थित बडिमालिका तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली मंगलबार प्रस्थान गरेको हो ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णु बहादुर महतको नेतृत्वमा प्रशासनबाट ५ जना पुजारी विष्णु प्रसाद उपाध्याय सहित भक्तजनको टोली बडिमालिका प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए ।
हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार मंगलबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाको छ ।

नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
उनका अनुसार परम्परादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने र जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ ।

नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् ।
प्रजिअ शर्माले बडीमालिका जाने टोलीको सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालय संग समन्वय गरी सुरक्षा व्यवस्था मजबुद बनाइएको उल्लेख गरे । उनले भने,‘सुरक्षा व्यवस्था मजबुद बनाउन सबै जिल्लामा समन्वय भएको छ । पत्राचार समेत गरीसकेका छौ ।’

जुम्लाका संस्कृती सम्बन्धी जानकार व्यक्ति चित्रलाल श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाउने गरिन्छ ।

बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । सोहि अनुसार बडिमालिकाबाट टोली १७ दिनपछि जुम्ला फर्किने छ । यस वर्षको श्रीकृष्ण जन्माअष्टमी साउन ३२ गते परेको छ । भने बडिमालिका गएको टोली साउने ३१ गते जुम्ला पुग्ने छ ।



