जुम्ला- पछिल्लो समय सानै २÷३ वर्षकै उमेरदेखि बालबालिकालाई मन्टेश्वरी तथा बाल विकास केन्द्रमा भर्ना गर्ने गरिन्छ । सानै उमेरदेखि बालबालिकाको स्कूल जाने आनीबानीको विकास होस् । पढ्ने लेख्न र मनोरञ्जनको बृद्धि विकास होस भन्ने उद्देश्यका साथ निजी तवरबाट मन्टेश्वरी र सरकारी तवरबाट बाल विकास केन्द्र स्थापना गरिएका हुन् ।
अभिभावकले सानै उमेरमा बालबालिकालाई मन्टेश्वरी र बाल विकास केन्द्रमा भर्ना गर्ने गर्दछन् । तर अभिभावकसँग जेल जीवन विताई रहेका बालबालिका भने सानै उमेरमा पढ्न लेख्न र मनोरञ्जन गर्न पाउदैनन् ।
कर्णाली प्रदेशका १० जिल्ला मध्ये ४ जिल्लाका कारागारमा आमाबुवा अभिभावकसँगै बालबालिकाले जेल जीवन विताई रहेका छन् । कर्णाली प्रदेश राजधानी सुर्खेतस्थित कारागारमा तीन जना आश्रीत बालबालिका छन् । दुई जना बालिका र एक जना बालक छन् । उनीहरु अभिभावकसँगै जेल जीवन विताई रहेका छन् ।
सुर्खेत कारागारकी जेलर लक्ष्मी खरेलका अनुसार आश्रीत बालबालिका पाँच वर्ष पुगेपछि घरमा रहेका अभिभावक जिम्मा लगाउने गर्दछौँ । उनले भनिन्, अहिले यो कारागारमा रहेका बालबालिका २÷३ वर्षका छन् । घरमा कोही पनि अभिभावक नभएको खण्डमा सरोकारवाला निकायको पहलमा कतै संघसंस्था मार्फत पढाउने व्यवस्था गर्ने गरिन्छ । गतवर्ष घरमा कोही पनि अभिभावक नभएको एक जना बच्चालाई संघसंस्थामार्फत काठमाडौँ पठाएका थियो । अहिले उनी काठमाडौँमै बसेर पढी रहेका छन् ।
रुकुमपश्चिम कारागारमा पाँच वर्षीय एक जना आश्रीत बालक छन् । कतव्र्य ज्यान मुद्दाको अभिभावकसँग बालक कारागार पुगेका हुन् । उनी (बालक) स्कुल जाने उमेरका भईसक्दा पनि पढ्न लेख्न पाएका छैनन् । जेलर केशव ओलीका अनुसार बालकको स्कुल जाने उमेर भएपछि घरमा पठाउने तयारी भएको छ ।
सल्यान कारागारमा एक जना आश्रीत बालका छन् । उनी तीन वर्ष पुरा भएर ४ वर्षतिर लागिन् । उनले पनि स्कुल जाने वातावरण पाएकी छैनन् । कारागारमा अभिभावकसँगै रहेका बालबालिकालाई पाँच वर्ष भएपछि मात्रै घरमा पठाउने व्यवस्था छ । जेलर भीमबहादुर घर्तीका अनुसार उनी बालिका बहुविवाह मुद्दाका अभिभावकसँग कारागार पुगेकी हुन् ।
जुम्ला कारागारमा पनि एक जना आश्रीत बालक छन् । उनी ४ वर्षका भए । तर स्कुल जान पाएका छैनन् । जेलर गयाप्रसाद पाण्डेका अनुसार अर्काे वर्ष बालक पाँच वर्षका पुग्छन् । अर्काे वर्षदेखि घरमा रहेका अभिभावकको जिम्मा लगाएर पठनपाठन गर्ने वातावरण मिलाउने छौँ । कतव्र्य ज्यान मुद्दाका अभिभावकसँग बालक कारागार पुगेका हुन् । कारागार व्यवस्थापन विभाग २०८२ असार महिनाको मास्केवारी वितरण अनुसार देशभर पाँच वर्ष मुनिका ६४ जना आश्रीत बालबालिका रहेका छन् ।



