जुम्ला–कालिकोट सडक खण्डअन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित भासिएको सडक मर्मत भएसँगै अवरुद्ध राजमार्ग सञ्चालन आएकाे छ ।
कालेखोलामा सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग संचालनमा आएकाे हाे । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए ।
उनका अनुसार, भासिएको सडक मुनिबाट पर्खाल उठाउने वा रक फुटाउने विषयमा छलफल भइरहेको छ । ठुला सवारी साधन जोखिम मोलेर आउजाउ गर्ने अवस्था रहेको छ । १० मिटर जति सडक भासिएकाले तत्काल निर्माण कार्य गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
सडक आंशिक रुपमा खुलेर साना सवारी आवतजावत भएपनि ठुला माल बाहक तथा यात्रु बाहक बसलाई भने जाेखिम रहेकाे छ । उक्त खण्डमा जाेखिम भएकाले सावधानी पूर्वक यात्रा गर्न समेत सडक डिभिजन जुम्लाले अनुराेध गरेकाे छ।
सडक भासिएका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको उक्त सडकखण्ड ठुला मालबाहक ट्रकबाहेक अन्य गाडी आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक रावतका अनुसार हिजो नै इन्जिनियरहरूको टिम सडक निर्माणको लागि कालिकोट पुगिसकेको थियो । भासिएको सडकको मुनिदेखि पर्खाल उठाउनु पर्ने भएका कारण सडक निर्माणमा केही दिन लाग्न सक्नेछ । यात्रु आवत जावत गर्न अहिले समस्या नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
भासिएकाे क्षेत्रमा तलबाटै पर्खाल निर्माण गर्नु पर्ने देखिएकाले सडक डिभिजन तयारीमा जुटेकाे छ । माथि पट्टि चट्टान सहित भीर रहेकाेले भत्कीएकै ठाउँमा निर्माण गर्नु पर्ने सडक डिभिजनले जनाएकाे छ । भासिएकाे खण्ड नबनाए सम्म ठुला सवारी संचालनमा जाेखिम रहेकाे छ ।



