
जुम्ला – जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त चन्दननाथ नगरपालिका जुम्लाका एम्बुलेन्स र शव बहान पुनः सुचारु भएका छन् ।
भदौँ २३ र २४ गतेको जेन–जी आन्दोलनकारी युवा समूहले चन्दननाथ नगरपालिका जुम्लाको शव बहान र एम्बुलेन्ससमेत तोडफोड गरेका थिए ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतका अनुसार तोडफोडपछि क्षतिग्रस्त एम्बुलेन्स र शव बहान मर्मतपछि पुन सञ्चालनमा ल्याएको छ ।
जेन—जी समूहले केही बाइकमा आगजनीसहित दर्जन सवारी साधन तोडफोड तथा कार्यालयनै क्षतविक्षत बनाएका थिए ।
प्रहरीले गरेको मुचुल्काअनुसार प्राप्त विवरणअनुसार दमकल एउटा, एम्बुलेन्स एउटा, शव बाहन एउटा, डोजर एउटा, महिन्द्रा जीप एउटा, हाइलक्स कार एउटा, स्कारपिओ एउटा तोडफोड भएको छ । त्यस्तै, ११ वटा मोटरसाइकल स्कुटर तोडफोड गर्नुका साथै आगजनी गरिएको छ ।
त्यसैगरी, डेक्सटप कम्प्युटर दुई थान, एलसीडी दुई थान, एकीकृत सेवा प्रणालीको टोकन मेसिन एक, डिजिटल नागरिक वडापत्र एक, डिजिटल बोर्डको स्पीकार दुई थान तोडफोड भएको छ । साथै, प्रिन्टर एक थान, वाटर डिस्पेन्चर २ वटा, ६६ वटा झ्यालको सिसा, एकीकृत सेवा प्रवाहको कार्यकक्ष, फर्निचरतर्फ कुर्ची २० वटा, सोफा सिट ७ पिस, टेबुल ३ वटा, नगर प्रहरीको लौरी ५ थानलगायतका कार्यालयका सम्पूर्ण सामाग्री तोडफोड गरेर नष्ट भएका थिए ।