जुम्ला । पार्टीभित्र आकांक्षी धेरै भएपछि नेपाली काँग्रेस जुम्लालाई उम्मेदवार टुग्याउन सकस भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनोट गर्न मंसिर २४ गतेदेखि निरन्तर बैठक बसेछि उम्मेदवार टुग्याउन सकस भएको हो ।
चार दिनको निरन्तर छलफलपछि पनि उम्मेदवार टुग्गो नलागेको कांग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीले जानकारी दिए । ‘सामान्य छलफल धेरै भइसक्यो तर आधिकारिक निर्णय भएर सिफारीस गर्नेसम्मको निर्णय हुन सकिरहेको छैन
प्रत्यक्षतर्फको उम्मेदवारमा ७ जनाले दाबी गरेकोमा तीन जनामा झरेको छ । अहिले पूर्व सांसद कान्तिका सेजुवाल, कांग्रेस सभापति कर्णबहादुर शाही र पूर्व उपसभापति खड्कबहादुर सेजुवालको नाममा छलफल चलिरहेको छ । प्रत्यक्षमा पनि उम्मेदवार घटाउने विषयमा छलफल भइरहेको प्रवक्ता गिरीले बताए । प्रतिनिधि सभाका लागि एकै जनाको नाम सिफारिस गरेर पठाउने कसरतमा जुटेको जुम्ला काँग्रेस टुंगोमा पुग्नै मुस्किल भएको छ ।
त्यस्तै समानुपातिकमा पनि धेरै आकांक्षी भएपछि छनोट प्रक्रिया लम्बीएको छ । भने,राष्ट्रियसभामा पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया र कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको नाम सिफारीस गर्ने तयारी छ । यदपी एकै जनाको सिफारिस हुनु पर्ने छलफल चलिरहेको छ ।
अन्य जिल्लामा काँग्रेसका उम्मेदवार धमाधम सिफारिस भईरहेको बेला जुम्लामा किचलो देखिएको छ । धेरैले प्रतिनिधि सभामा काँग्रेस सभापति कर्णबहादुर शाहीको नाम एकल सिफारिस गर्नुपर्ने पक्षमा उभिएको बुझिएको छ ।
तर समानुपातिक र राष्टि्य सभाका लागि कसलाई सिफारिस गर्ने भन्ने बारे विषय गिजोलिदै गएको छ । अर्को तिर प्रतिनिधि सभाका लागि पूर्वसांसद कान्तिका सेजुवाल पनि जुम्लामा कांग्रेसको बलियो उम्मेदवार हुन सक्ने चर्चा छ ।
नेपालकै प्रथम मेयरको परिचय पाएकी सेजुवालले प्रत्यक्ष तर्फ चुनाव लडि जुम्लाको नेतृत्व गर्ने दृढ ईच्छा शक्ति सहित नेता कार्यकर्तालाई सहयोग गर्न अपिल गर्दै आएकी छन् ।



