जुम्ला – जुम्लामा १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र यहाँका ८ स्थानीय तहका १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन वटा, गुठीचौर एक वटा, पातारासी दुई वटा र तातातोपानी एक वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् ।
यस्तै तिला एक वटा, सिंजा दुई वटा, कनकासुन्दरीमा दुई वटा र हिमा गाउँपालिकामा चार वटा एम्बुलेन्स रहेका छन् । चन्दननाथमा एक वटा एम्बुलेन्स र एक वटा शववहान सञ्चालनमा रहेका छन् । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको संयोजकत्वमा रहेको जिल्ला एम्बुलेन्स समितिले जिल्लामा रहेका एम्बुलेन्स तथ्यांक संकलन गर्नुका साथै भाडादर निर्धारण गरेको छ ।

चन्दननाथ नगरपालिका भित्र ६ सय रुपियाँ एम्बुलेन्स भाडादर निर्धाण गरिएको छ । त्यस पश्चात जिल्ला भित्र कच्ची सडकमा प्रतिकिलोमिटर एक सय रुपियाँ र पक्की पीच सडकमा प्रतिकिलोटिर ९० रुपियाँ एम्बुलेन्स भाडादर निर्धारण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । यस्तै जुम्लाका कुनै पनि स्थानबाट सुर्खेतसम्म दुई तर्फ २० हजार रुपियाँ र नेपालगज्जसम्म दुई तर्फ २५ हजार रुपियाँ एम्बुलेन्स भाडादर निर्धारण गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।




