मुगुको सिड्डि गाउँमा भाइरल ज्वरोको प्रकोपः एक हप्तामा ३ वृद्धको मृत्यु

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–९, सिड्डि गाउँमा भाइरल ज्वरो, रुघाखोकी तथा खोकीको संक्रमण तीव्र रूपमा फैलिँदा पछिल्लो एक हप्तामा तीन जना वृद्धको मृत्यु भएको छ। दुर्गम बस्तीमा स्वास्थ्य सेवा समयमै नपुगेको भन्दै स्थानीयले राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएका छन् ।

स्थानीय युवा जगत बहादुर रोकायाका अनुसार मृत्यु हुनेमा एक हप्ता अघि ७८ वर्षीय पाउसरा रोकाया, हिजो ७६ वर्षीय रुद्धविर रोकाया र आज ७४ वर्षीय कालिकोईला रोकाया रहेका छन्। मृतक तीनै जना एकै गाउँका स्थानीय बासिन्दा हुन्। स्थानीयका अनुसार उनीहरू लामो समयदेखि ज्वरो, खोकी र रुघाखोकीको समस्याबाट पीडित थिए। उनिहरु कुनै स्वास्थ्य सेवा केन्द्र गएका थिएनन् र गाउँमै स्थानीय परम्परागत औषधि मार्फत सन्चो हुने आशामा थिए।

करिब १५० जनसंख्या र २७ घरधुरी रहेको सिड्डि गाउँमा हाल करीव २०–२५ जना स्थानीय बासिन्दा भाइरल ज्वरो, रुघाखोकी र खोकीबाट ग्रसित रहेका छन्। तर गाउँमा नजिकै स्वास्थ्य सेवा नहुँदा सामान्य औषधि (सिटामोल) लिन समेत करिब २.५ घण्टा पैदल हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता रहेको छ। समयमै उपचार नपाउँदा संक्रमण थप जटिल बन्दै गएको स्थानीयको भनाइ छ।

यस सम्बन्धमा जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख डा. निर्मल नगरकोटीले अहिलेसम्म औपचारिक जानकारी नआएको प्रतिक्रिया दिएका छन्। तर स्थानीय बासिन्दाले स्वास्थ्य निकायको यस्तो प्रतिक्रियाले समस्या झनै गम्भीर बन्दै गएको बताएका छन्।

पहिल्यै दिइएको चेतावनी बेवास्ता भएको आरोप
स्थानीय युवा आशिष देवकोटाका अनुसार करिब एक महिना अघि मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका – १२ को वाम गाउँमा एकै गाउँमा पाँच जनाको मृत्यु भइसकेपछि सम्भावित महामारीको जोखिम औंल्याउँदै समाधानका उपाय तुरुन्त निकाल्नुपर्ने मागसहित स्वास्थ्य मन्त्रालयमा डेलिगेसन गएको थियो। उक्त डेलिगेसनमार्फत उच्चस्तरीय विशेषज्ञसहितको स्वास्थ्य टोली मुगु पठाउन आग्रह गरिएको थियो।

तर देवकोटाका अनुसार त्यसबेला जिल्लामा रहेका केही भ्रष्ट कर्मचारी र गैरजिम्मेवार नेताहरूले उक्त विषयलाई “फेक न्युज” भन्दै आफू र पत्रकारलाई दबाउने प्रयास गरे। “रोग दबाउने र आवाज दबाउने प्रयास गरियो, तर आज त्यही समस्या सिड्डि गाउँमा भयानक रूपमा देखापरेको छ,” देवकोटाले भने।

उनले समयमै गम्भीर ध्यान दिइएको भए आज यस्तो अवस्था नआउने दाबी गर्दै अब ढिलाइ नगरी उच्चस्तरीय विशेषज्ञसहितको स्वास्थ्य टोली, औषधि, परीक्षण किट र आपतकालीन सेवा तत्काल मुगु पठाउनुपर्ने माग गरेका छन्।

स्वास्थ्य पूर्वाधार र राज्यको जिम्मेवारी माथि प्रश्न
स्थानीय बासिन्दाका अनुसार यो समस्या केवल भाइरल ज्वरोको मात्र नभई दुर्गम क्षेत्रमा स्वास्थ्य पूर्वाधारको चरम अभाव, सरकारी लापरवाही, कमजोर निगरानी प्रणाली र गैरजिम्मेवार प्रशासनिक रवैयाको परिणाम हो। सामान्य रोगले समेत ज्यान जाने अवस्था सिर्जना हुनु राज्यको गम्भीर असफलता भएको उनीहरूको भनाइ छ।

संक्रमण थप फैलिन नदिन स्थानीयले संघीय, प्रदेश र स्थानीय सरकारसँगः
आपतकालीन स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्न
औषधि, चिकित्सक र परीक्षण टोली पठाउन
उच्चस्तरीय विशेषज्ञसहितको स्वास्थ्य टोली मुगु पठाउन
दुर्गम बस्तीमा स्थायी स्वास्थ्य सेवा विस्तार गर्न
तत्काल हस्तक्षेपको माग राख्दै युवाहरु २०८२ साल पुष १० गते स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई भेटेर माग राखेका थिए । स्थानीयहरू भन्छन् “यो प्राकृतिक समस्या मात्र होइन, राज्यको संवेदनशीलता, जवाफदेहिता र दुर्गम नागरिकप्रतिको जिम्मेवारीको कठोर परीक्षा हो ।

प्रकाशित मिति : २०८२ माघ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस