बाईराँकामा खानेपानी पुराउने चुनावी एजेण्डा मात्रै, पानीको समस्या वर्षौदेखी उस्तै

गाउँमा भएको एउटै धारामा पानी भर्न लाईनमा बसेका बाईराँकाका स्थानीय । फाईल तस्बिरः कर्णाली मिसन

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. १ बाईराँका गाउँका यूवा विराज नेपाली जान्ने भएदेखी आजसम्म गाउँमा धाराको पानी आएको छैन् । नदीकै दुषित पानी खाएर बाल्यकाल बिताएका उनी, केही वर्ष खाडी मुलुक बसे । त्यसपछि काठमान्डौँमा काम गरेर गुजारा चलाउदै आएका अहिले सम्म पनि गाउँमा खानेपानीको समस्या ज्युँत्युका हुँदा छक्क परेका छन् ।

लामो समयपछि गाउँ फर्किएका विराजले घरघरमा धारा नभएपनि गाउँमा खानेपानी पुग्यो होला भन्ने आशा गरेका थिए । तर नदीकै दुषित पानी पिउनु पर्ने दशकौ देखीको नियती उस्तै देखेपछि २०६४ यताका निर्वाचनमा गरेका बाचा र संघियता कार्यान्वयनले पनि बाईराँकाको समस्या संबोधन नगरेको दुख व्यक्त गरे ।

‘एक सय २० भन्दा बढी घरधुरी रहेको गाउँमा अहिले सम्म पानी पुगेको छैन्’,उनले भने,‘सिंहो गाउँ नदीको पानी खाईरहेको छ । २०६४ यता सबै निर्वाचनमा बाईराँकामा पानी पुराउने नारा नलगाइएको पनि होईन् । स्थानीयतहका जनप्रतिनिधिले बाचा गरेकै थिए । तर पानी ल्याउने नाममा बाईराँका बासीलाई भोट बैंक बनाइएपनि समस्या उस्तै छन् । अबको चुनावमा निकै विवेक प्रयोग गर्नुपर्नु देखियो ।’

जुम्लाबाट २०६४ देखि २०८९ सम्म चार वटा संघिय निर्वाचन र दुई वटा प्रदेश सभाको निर्वाचन सम्पन्न भए । २०६४ मा नरेश भण्डारी, २०७० मा ललितजंग, २०७४ गजेन्द्र बहादुर महत र २०७९ मा ज्ञानेन्द्र बहादुर शाहीले जिते । दर्जन बढी समानुपातिक सांसद पनि भए । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुदैँ छ । तर बाईराँका गाउँमा भने पानी पुग्न सकेको छैन् ।
गाउँमा स्रोत नभएको उक्त बाईराँकामा संघ र प्रदेशको ठुलो बजेट लगानी बिना पानी पुग्न सम्भव छैन् । जितेका सांसदले गाउँमा पानी ल्याउँलान र आफुले पाएको जस्तो दुख छोरा नातीले नपाउँला भनेर निरन्तर भोट दिईरहेका बाईराँका बासी अहिले निकै पश्चतापमा छन् ।

निर्वाचित भएको केही महिनामा घरघरमा धारा जडान गर्ने बाचा गरे पनि गाउँमा पानी पुगेन । खाली राजनीति गर्नका लागि बाइराँका गाउँमा पानी पु¥याउने विषय नेताले ढालका रूपमा बाइराँकाबासीलाई प्रयोग गरे । फागुन २१ को चुनावी माहोल जुम्लामा बढ्दै छ । नरेश भण्डारी र ज्ञानेन्द्र शाही दोहोरिने दाउमा फेरी चुनावी मैदानमा छन् । काँग्रेसबाट दिपबहादुर शाही, एमालेबाट शान्तिलाल महत लगायत एक जना स्वतन्त्र सहित १० जना उम्मेदवार घरदैलो गरिरहेका छन् । तर बाईराँका बासीका माग पुरानै छन् । गाउँमा पानी ल्याउने बाचा मात्र नभई काम गर्ने आशा लाग्दो उम्मेदवारलाई भोट दिने पक्षमा छन् बाईराँकाबासी ।

दलहरुले आफ्ना घोषणा पत्र सार्वजनिक गरेका छैनन् । तर घोषणापत्रको सुरुवातमै बाईराँकामा पानी पुराउने कुरा उल्लेख हुने तर जितेर गएपछि पानी पनि नआउने, नेता पनि नआउनेमा स्थानीय ढुक्क छन् । त्यसैले अहिलेको निर्वाचनमा काम गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने सोचमा रहेको यूवा नेपालीले जानकारी दिए

चुनावमा मात्रै हरेक पार्टीका घोषणापत्रमा प्राथमिकतामा पर्ने बाइराँका गाउँको खानेपानी समस्या निर्वाचनपछि सबैको उपेक्षामा पर्ने गरेको छ । बाईराकामा पानी पुराउने ऐजेण्डा सबै दलका उम्मेदवार लिदै आएपनि काम भने हुन सकेको छैन् ।
बाह्रैमास पानीले काकाकुल तातोपानी–१ बाइराँकाका स्थानीय अहिले पनि तिला नदीको दूषित पानीको सहारामा बाँचिरहेका छन् । ‘बर्खाको हिलो माटो मिसिएको पानी खाँदा पनि धन्न हामी बाँचेका छौं ।

रोग लागेको छैन’,बाइराँका गाउँकी स्थानीय महिला छुमकली सार्की भन्छिन्,‘बाइराँकामा पानी पु¥याउने आश्वासन २०६४ बाट हालसम्मका संघीय सांसददेखि स्थानीय तहका वडाध्यक्षले आश्वासन दिए । तर पानी पुगेन । जनसंख्या बढ्दै छ । पानीको स्रोत कतै छैन । तीनै तहका सरकार हाम्रा समस्याप्रति अनुदार देखिए । हाम्रो प्यासको कसैलाई मतलव छैन । संविधानले दिएको स्वच्छ पानी पिउने अधिकार नै कुण्ठित भएको छ ।’

तातोपानी गाउँपालिका–१ बाइराँका गाउँका मिनबहादुर शाहीका पाँच दशक तिला नदीकै दूषित पानी पिएर बिते । अहिले गाउँमा लिफ्टमार्फत् पानी पुगे पनि पर्याप्त छैन । अझै खोलाकै पानीको भर छ । बाउ बाजेले खोलाकै पानी खाए, हामीले खायौं । उनले भने, ‘बाइराँका गाउँमा पानी पु¥याउने विषय चुनावी एजेण्डामात्र बन्यो । हाम्रो दैनिकी फेरिएन । हरेक चुनावमा हुने पानी राजनीतिले निकास दिन सकेन । तर पछिल्लो समय धौलिगाड आयोजना बन्ने कुराले उत्साहित छौं ।’

गाउँ नजिकै भएको एक इनारबाट स्थानीयले दैनिक ४० लिटरमात्रै पानी उपभोग गर्न पाउँछन् । छुमकली र मीनबहादुर जस्तै, बाइराँका गाउँका झण्डै १२० घरधुरी नै नदीको दूषित पानी पिउन बाध्य छन् । पानी पु¥याई दिने नाममा नेताले बाइराँकाबासीलाई भोट बैंकका रूपमा प्रयोगमात्रै गरे ।

प्रकाशित मिति : २०८२ माघ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस