जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको गरगर्मी बढ्दै गएको छ । यतिबेला गाउँदेखि शहर निर्वाचनमय बनेको छ । भने उम्मेदवार भोट माग्न गाउँ गाउँमा बेस्थ छन् ।
प्रतिनिधि सभा तर्फ एउटा मात्रै मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा एक जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् । यसैबीच नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले जुम्लाको प्राकृतिक स्रोतको संरक्षण तथा प्रर्बद्वन, रोजगारी सृजना, उत्पादन बृद्वि र पूर्वाधार विकास सहितका एजेण्डा अघि सारेका छन् ।
विशेष गरी चार ´ज` लाई प्रथामिकता दिएर नीतिगत रुपमै सुधार गरेर काम गर्ने उनको प्रतिबद्वता छ । जुम्लाको जल, जमिन, जडिबुटि र जंगलको प्रर्बद्वन गरी आयआर्जन बृद्वि तथा रोजगारी सृजना गरी समृद्व जुम्लाको खाका तयार गरिएको उल्लेख गरे ।
जुम्लाको पातारासी,गुठिचौर र पातारासी क्षेत्रमा जडिबुटि विशेष कार्यक्रम ल्याउन जरुरी छ । भने यहाँका आठै पालिकाको उत्पादन सम्भावनाका आधारमा पकेट क्षेत्र निर्धारण गरेर कार्यक्रम संचालन गर्ने महतका योजना छन् ।
भने जनसंख्याका आधारमा बजेट छुटाउने सरकारको नीतिले जुम्ला लगायतका कर्णालीका जिल्ला पछि परेकाले नीतिगत रुपमै सुधार गरेर भूगोलका आधारमा बजेट विनियोजन हुने नीति बनाउन जोड दिईने उल्लेख गरे ।
जुम्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन पूर्वाधारलाई ध्यानमा राखेर आबश्यकता मुखी काम गर्ने कार्ययोजना छ । साथै जुम्लामा राम्रो जनमत भएको एमाले पार्टीका उम्मेदवार महत जिल्लाको विकास संगै २०५६ साल यताको विरासतलाई जोगाउने प्रयासमा छन् ।
राम्रो जनसंगठन भएर कहिले दोस्रो र कहिले तेस्रो स्थानमा चित्त बुझाईरहेको एमाले यस पटक जित निकाल्ने दाउँमा छ । एमाले जिल्ला कमिटीले सबैको समर्थनमा एकल सिफारिस भएको र नेता–कार्यकर्ताको अपार साथ भएकाले यसपटक विजेता भएर छाड्ने उनको दाबी छ । पार्टीका सबै तहका नेता कार्यकर्ता जुम्लामा यस पटक एमालयको जित सुनिश्चित गराउन लागि रहेका छन् ।
जुम्लामा नेकपा एमालेले २०५६ सालको निर्वाचनमा देवीलाल थापालाई जितायो । त्यस यताका चार वटा निर्वाचनमा एमालले जित निकाल्न सकेन् । जनसंगठन बलियो हुँदा पनि विगतका निर्वाचनमा पराजित हुन पुगेको एमालेले फागुन २१ को निर्वाचनलाई आफ्नो पक्षमा पार्न सबै कसरत गरिरहेको छ ।
२०३८ सालदेखि नेमकिपाबाट भूमिगत रूपमा पार्टी सदस्यता प्राप्त गरेका महत २०४७ मा नेकपा माले हुँदै नेकपा एमालेको राजनीतिमा लागेका हुन् । वडाध्यक्षदेखि सकुम्बासी आयोगको अध्यक्षसम्म हुँदै लामो समय गैरसरकारी संस्थामा लागेर उनले समाजसेवा गरेका छन् ।
लामो समय सामाजिक सेवा संगै राजनीतिमा सक्रिय महत हालसम्म कुनै लाभको पदमा पुगेका छैनन् । सामान्य जीवन शैली र सादगी नेताको परिचय बनाएका महत २०७४ सालको निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । तर त्यो चुनावमा पनि हार व्यहोरे ।
सबै चुनावका अनुभव संगालेका शान्तिलाल महतलाई एमालेले चुनावी मैदानमा पठाएको हो। महतले राष्ट्रियता विरोधी, भौतिक संरचना जलाउनेदेखि हिंसात्मक कार्यका विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन् ।
देशमा राजनीतिक स्थिरता कायम गर्न र सुखी नेपाली, समृद्ध नेपाल साकार पार्न पनि नेपाली जनताले एमालेलाई पहिलो पार्टीका रूपमा देख्न चाहेको उनको तर्क छ । अहिले एमाले संगै सबै उम्मेदवार गाउँ केन्द्रित छन् । सबै उम्मेदवार आआफ्नै जितको दौडमा छन् । यदपी नजिता कसको पक्षमा आउछ भन्ने अहिलेनै भन्न सकिने स्थिती छैन् ।



