जुम्ला । नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले जुम्लाको सिंजा क्षेत्रमा छुट्टै अस्पताल निर्माण गर्ने प्रतिबद्वता गरेका छन् । चुनाव प्रचारका लागि शनिवार सिंजा क्षेत्रमा पुगेका महत सिंजा क्षेत्रको आबश्यकता र समस्यालाई मध्यनजर गरी अस्पताल निर्माण गर्ने प्रतिबद्वता गरेका हुन् ।
जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपनि सिंजा क्षेत्रका तीन पालिकाका नागरिकलाई भौगोलिक हिसाबले प्रतिष्ठानमा आएर सेवा लिन कठिन छ । जटिल खालका उपचारका लागि कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकाका जनतालाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न १५ शैया सम्मको अस्पताल निर्माण गर्ने प्रतिबद्वता गरेका छन् । सिंजामा अस्पताल बनेपछि तिलाका नागरिक पनि लाभान्वित हुने छन् । नापी मालपोत स्थापनाका लागि सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले निरन्तर प्रयास गरेका थिए । अध्यक्ष धितालको अथक प्रयासले सफलता पाएपछि उनले सबैलाई धन्यबाद समेत दिएका थिए ।
´अस्पताल निर्माणले सिंजा क्षेत्रका तिन पालिकाका ४० हजार नागरिकले प्रत्यक्ष राहत पाउने छन्,`उनले भने,´कनकासुन्दरीमा निर्माण भईरहेको अस्पताल अलपत्र छ । त्यो अस्पताल बन्ने टुंगो छैन् । तीन पालिकाका नागरिकका लागि पायक पर्ने स्थानमा म निर्वाचित भएपछि अस्पताल बनाउछु । यो मेरो प्रतिबद्वता मात्र होईन । जनताको आशा र भरोसा प्रतिको संकल्प हो ।`
साथै सिंजा क्षेत्रका नागरिकका लागि एमाले सरकारकै पालामा नापी र मालपोत कार्यालय स्थापना भएको र आफुलाई जिताएर पठाएमा अस्पताल बनाएरै छाड्ने उनको भनाई छ ।
लामो समयदेखि प्रयास गरेपनि प्रचण्ड सरकारमा हुँदा सिंजामा नापी मालपोत स्थापना गर्ने कुराले पूर्णता पाएको थिएन् । तर सिजा क्षेत्रका नागरिकका माग, आबश्यकता र समस्यालाई मध्यनजर गरी केपी ओली प्रधानमन्त्री हुँदा सिंजाको नराकोटमा नापी मालपोत स्थापना गर्न मन्त्री परिषदबाटै निर्णय भएको हो ।
´सिंजाका नागरिकलाई राज्यको मुल प्रवाहमा एमाले सरकारले नापी मालपोत दियो । अब मलाई जिताएमा सिंजामा अस्पताल निर्माण गर्छु,`उनले भने ।`
२०८१ पुष १० गते बसेको मन्त्री परिषदको बैठकले सिंजामा मालपोत र नापी कार्यालय स्थापना गर्ने औपचारिक निर्णय गरेको थियो ।
पहिला प्रचण्ड सरकार मातहतका निकायले बाधा अडचन गरेको कामलाई केपी ओली सरकारले सहजै निर्णय गरी दुर्गम सिंजामा नापी मालपो सेवा विस्तार गरेको थियो ।
तर सिंजामा नापी र मालपोत स्थापना गर्ने सरकारकाे निर्णय संगै सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका नागरिक उत्साहित भएका छन ।
अघिल्लो सरकार सकारात्मक रहे पनि मुख्य सचिवले कानुनी अड्चनका देखाएका कारण यो कामले पूर्णता पाउन सकेको थिएन। तर,प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिंजाली जनताको आवाज सुनेको छ।
पार्टीको केन्द्रिय र जिल्लाको घोषणा पत्र आउन बाँकी छ । जुम्लाको घोषणा पत्रमा जल,जमिन, जटिबुटि र जंगलको प्रर्बद्वनसंगै सिंजा क्षेत्रमा अस्पताल निर्माण गर्ने एजेण्डालाई प्रथामिकता दिईने उम्मेदवार महतले उल्लेख गरे ।
एमालेका उम्मेदवार महत यतिबेला सिंजा क्षेत्रका गाउँ गाउँमा चुनावी प्रचारमा छन । २०५६ यताको विरासत फर्काउने गरी एमाले एकजुट भई निर्वाचनमा जित निकाल्ने गरी होमिएको छ ।
२०६४ मा प्रतिनिधि सभा र २०७४ मा प्रदेश सभामा जितिसकेका नेकपाका नरेश भण्डारी, २०७९ मा प्रतिनिधि सभामा निर्वाचित भएका ज्ञानेन्द्र शाही दोहोरिने दाउमा चुनावी मैदानमा छन् । तर हाल सम्म संघिय निर्वाचनमा प्रतिनिधि नदोहोर्याएको जुम्लाले यस पटक पनि नयाँ अनुहार चुन्ला की, पुरानै दोहोर्याउला त्यो भने हेर्न बाँकि छ । तर नेकपा एमाले भने आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आएको छ ।
हाल सम्म कुनै पनि राजनीतिक लाभको पद नलिएका महत नयाँ अनुहारका रुपमा निर्वाचनमा होमिदा मतदाता पनि उत्साहित छन् ।
साथै, सिँजा क्षेत्र नेपाली भाषाको उद्गम स्थल तथा खस भाषाको जननी भएकाले भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि विशेष पहल गर्ने उनको प्रतिबद्धता छ ।
सिँजामा रहेको सिँजा क्याम्पसलाई कर्णाली प्रदेशकै खस भाषा, साहित्य र संस्कृतिको अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै मुल क्याम्पसका रूपमा स्थापित गर्ने योजना पनि अघि सारेका छन् ।
चुनावी मैदानमा रहेका अन्य उम्मेदवारभन्दा फरक ढंगले काम गर्ने दाबी गर्दै महतले धेरै बोल्ने भन्दा पनि जनताको समस्या समाधान गर्ने क्षमता आफुसँग रहेको समेत दाबी गरेका छन् ।



