कहिल्यै सुधार नहुने कर्णाली राजमार्ग, भगवान भरोसामा यात्रा कहिले सम्म ?

जुम्ला । साविक कर्णालीका पाँच जिल्लाबाट ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभासदस्य निर्वाचनका लागि साविक कर्णालीका जुम्लाबाट १० जना, डोल्पाबाट ९ जना, मुगुबाट ७ जना, कालिकोट १० जना र हुम्लाबाट ७ जना सहित ४३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

चुनावी घोषणा पत्र बिनै मतदाता रिजाउन गाउँ गाउँमा पुगेका अधिकांश उम्मेदवारले कर्णालीबासीको जीवन रेखा मानिएको कर्णाली राजमार्ग स्तरोन्नीको विषयलाई विशेष प्रथामिकता दिएका छन् । २०६१ सालबाट संचालनमा आएको जुम्ला–सुर्खेत जोड्ने कर्णाली राजमार्ग, २०६९ सालबाट संचालनमा आएको रारा ताल जोड्ने पर्यटकीय मार्ग नाग्म–गमगडी सडक अझै स्तरोन्नति हुन सकेको छैन् ।

२०६४ को निर्वाचनमा नरेश भण्डारी,२०७० मा ललितजंग शाही, २०७४ मा गजेन्द्र बहादुर महत, २०७९ मा ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचन जिते । कालिकोटका महेन्द्र बहादुर शाही २०७४ मा प्रदेशमा जितेर प्रथम मुख्यमख्त्री भए । २०७९ मा प्रतिनिधि सभा सदस्य पनि जिते । बितेका चार वटै निर्वाचनमा जुम्ला र कालिकोटका जितेका नेताहरुले कर्णाली राजमार्ग स्तरोन्नतिको विषयलाई विशेष प्रथामिकता दिएका थिए ।

तर कर्णाली राजमार्ग संचालनमा आएको दुई दशक बढी समय बितिसक्दा पनि राजमार्ग पूर्ण रुपमा कालोपत्रे हुन सकेको छैन् । अहिले पनि भगवान भरोसामा यात्रा गर्न कर्णालीबासी बाध्य छन् । रारा जाने नाग्म–गमगडी सडक सुधार नहुँदा पर्यटकले सास्ती पाईरहेका छन् ।

फागुन २१ मा हुने निर्वाचनका लागि नेकपाका नरेश भण्डारी, राप्रपाका ज्ञानेन्द्र शाही दोहोरीने दाउँमा चुनावी मैदानमा छन् । एमालेका शान्तिलाल महत, काँग्रेसका दीप बहादुर शाही, रास्वपाकी विनिता कठायत लगायत १० जना उम्मेदवार छन् । नेकपा एमालेको बाचा पत्रमा कर्णाली राजमार्गलाई दुई लेनको निर्माण गरेर कालोपत्रे गर्ने उल्लेख छ । सडक पूर्वाधार,विकासको आधार भन्ने नारा सहित कर्णाली राजमार्गलाई कम्तिमा दुई लेनको सडक द्रुतगतिमा स्तरउन्नती सहित वर्षेभरि सडक सञ्चालनको सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।

रास्वपाकी विनिता कठायतले जुम्ला सहित साविक कर्णालीका चार जिल्लाको जीवन स्तर सुधार गर्न कर्णाली राजमार्ग स्तरोन्नति तथा वैकल्पीक राजमार्ग निर्माणमा जोड दिने बताएकी छन् । नेकपाका नरेश भण्डारीले पनि राजमार्ग सुधारको विषयलाइ प्रथामिकता दिएका छन् । राप्रपाका ज्ञानेन्द्र शाही,प्रलोपाका मनऋषि धिताल, नेकपा (माओवादीका) विर्ख बहादुर शाही लगायतले पनि कर्णाली राजमार्ग, नाग्म–गमगडी सडक सुधारमा जोड दिने बताएका छन् ।

तर उम्मेदवारहरुले भने जस्तो कर्णाली राजमार्ग सुधार हुनेमा जुम्लाबासी विश्वस्त छैनन् । २०६४ देखी २०७९ सम्मका निर्वाचनमा उठेका उम्मेदवार र जितेका सांसदले राजमार्ग सुधार गर्ने बाचा नगरेका होईनन् । तर परिणाममुखी काम भने हुन सकेको सकेन् ।
जुम्ला–सुर्खेत जोड्ने २३२ किमीको कर्णाली राजमार्ग, ९३ किमी दुरीको नाग्म–गमगडी संचालन भएको दुई दशक बितेपनि अझै हिउँदमा धुलो र वर्खामा हिलो हुने गरेको छ । नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले दशकौदेखी चुनावी एजेण्डा मात्रै बनाउने तर काम नगर्ने प्रबृत्तीको अन्त्य हुनु पर्नेमा जोड दिए ।

भगवान भरोसामा यात्रा गर्नुपर्ने कर्णालीबासीको बाध्यतालाई र मजबुरीलाई चुनावी एजेण्डा बनाएपनि जितेर गएपछि कहिल्यै ध्यान नदिने प्रबृत्तीले राजमार्ग सुधारले गति लिन नसकेको उनको भनाई छ । २०७४ मा प्रदेश सभामा जितेका पदम रोकाया भौतिक पूर्वाधार मन्त्री हुँदा नाग्म–गमगडी सडकलाई २ वर्षमा कालोत्रपे गर्ने बाचा गरेका थिए । तर अहिलेसम्म ९३ किमी मध्य ६ किमी मात्रै कालोपत्रे भएको छ ।

चुनावी एजेण्डा बनाएर मत लिने पछि काम नगर्ने, जनताले सधै हिलो र धुलोको समस्या झेल्नु पर्ने समस्याको अन्त्य हुनु पर्नेमा समेत नागरिक अगुवा राज बहादुर महतले बताएका छन् । यता सडक डिभिजन जुम्लाका प्रमुख श्रवण कुमार महताराले चालु आवकै असार सम्म राजमार्गमा नागरिकले महसुश हुने गरी सुधार गर्ने कार्ययोजना तयार गरेको बताए । नागरिक सरकारमा जुम्लाका माधव प्रसाद चौलागाई मन्त्री भएपछि कर्णाली राजमार्ग सुधार हुने अपेक्षा गरिएको छ । मन्त्रीकै निर्देशनमा कर्णाली राजमार्गको सुधारलाई सडक डिभिजन जुम्लाले अघि बढाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस