विकट गाउँमा पुग्दैनन् उम्मेदवार, समस्या ज्यूकात्यू

जुम्ला – आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन आउन अब तीन साता जति समयावधि बाँकी रहेको छ । निर्वाचन नजिकिदै गएपछि प्रतिनिधि सभाका उम्मेदवारले चुनावी प्रचारप्रसारका कामलाई तिव्रता दिदै आएका छन् ।
प्रतिनिधि सभाको १ मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित १० जना उम्मेदवार छन् । यहाँका गाउँघरमा उम्मेदवार र तिनका कार्यकर्ता गाउँघर निर्वाचन प्रचारप्रसारका सामग्रीले निकै होहल्ला र कोलाहल मञ्चाई रहेका छन् । सदरमुकाम खलंगा नजिकका गाउँ घरतिर उम्मेदवारको आमुन्यसामुन्य भेटघाट पनि हुने गरेको छ । एउटै गाउँघर बस्तीमा दो¥याई ते¥याई पुग्ने पनि गरेका छन् ।


तर तिला गाउँपालिका – ९ खोप्रीगाउँ, कनकासुन्दरी गाउँपालिका – १ सिप्टी मार्फान गाउँ र पातारासी गाउँपालिका – ३ हुरीमहरी जस्ता विकट गाउँबस्ती निकै सुनसान छन् । त्यहाँका मतदातालाई चुनाव आएको अनुभुति हुदैन । यिनै गाउँबस्ती सडक सञ्जालमा जोडिएका छैनन् । त्यहाँका मतदाता खेतीपाती र आफ्नै पेशा व्यवसायमा नै व्यस्त हुन्छन् । यिनै गाउँ बस्तीमा प्रायजसो उम्मेदवार यस्ता विकट गाउँबस्तीमा पुग्ने गरेका छैनन् । यस वर्ष खोप्री गाउँमा चुनावी प्रचारप्रसारको क्रममा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही भने खोप्री गाउँमा पुगेका छन् ।
उच्च भागमा रहेको खोप्री जुम्लाकै सवै भन्दा विकट गाउँ बस्ती हो तिला गाउँपालिका – ९ स्थित माथिल्लोखोप्री र तल्लोखोप्री गरी वटा गाउँ छन् । माथिल्लो खोप्रीमा ३५ वटा र तल्लो खोप्रीमा २१ वटा घरधुरी छन् । यिनै दुई गाउँ गरी करिव दुई सय मतदाता रहेका छन् ।


निर्वाचन आउन अब तीन साता मात्रै बाँकी छ । निर्वाचन प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवार खोप्री गाउँ नपुगेको अगुवा नागरिक तथा शिक्षक छविलाल थापाले बताए । उनले भने, अघिल्ला वर्षतिरका निर्वाचन ताका पनि यहाँ उम्मेदवार खासै आएनन् । यो गाउँबस्तीमा जल्दाबल्दा समस्या छन् । सडक, विजुली, खानेपानी, स्वास्थ्य शिक्षा जस्ता आधारभुत विकास निर्माण भएका छैनन् ।

तिला गाउँपालिका – ९ राँसा मालापानी र तातोपानी गाउँपालिका – ७ कयरकोटसम्म सडक निर्माण भएर सवारी साधन नै गुड्ने गरेका छन् । यिनै दुवै क्षेत्रबाट करिव ९÷१० किलोमिटरको दुरीमा खोप्री गाउँ रहेको छविलाल थापा बताए । यिनै दुई ठाउँ मध्येबाट एक ठाउँबाट सडक गाउँमा पु¥याई दिन राजनीतिक दलका नेता, जनप्रतिनिधिदेखि विकासे अण्डाका हाकिमलाई आग्रह गरौँ । तर कसैले पनि सुनुवाई गरेका छैनन् ।
विकासको मेरुदण्ड नै सडक पुर्वाधार हो । यो नभएपछि अरु विजुली खानेपानीका पुर्वाधार निर्माण हुन सकेका छैनन । खोप्री गाउँका दुई वटा बस्ती छन् । यिनै दुई वटा वस्तीमा दुई वटा मुलका खानेपानीका आधा छन् । रातदिन अवेरसम्म स्थानीय बासिन्दाले खानेपानी भर्ने गरेको अर्काे स्थानीय अगुवा देविलाल थापाले बताए ।


शिक्षा स्वास्थ्यको पनि गाउँमा उस्तै समस्या छ । गाउँमा सामान्य स्वास्थ्य उपचारका लागि सामुदायिक स्वास्थ्य इकाई सञ्चालन छ । खोप्री गाउँदेखि प्रसुति गृह रहेको राँसा मालापानी स्वास्थ्य चौकी करिव ९ किलोमिटर दुरीमा टाढा रहेको छ । माघ दोस्रो साता खोप्रीकी २७ वर्षीया रमिता थापालाई सुत्केरी गराउन बर्थिङ सेन्टरमा लैजाँदै गर्दा बाटोमै शिशु जन्मियो ।
आफन्तले बोकेर बर्थिङ सेन्टर लैजाँदै गर्दा चायापाटनको हिउँमै रमिताले छोरी जन्माईन् । बाटैमा सुत्करी भएपछि रमितालाई घर फर्काइएको थियो । यस्तै बर्थिङ सेन्टर बोकेर लैजाने क्रममा ६ जनाभन्दा धेरै महिला बाटोमै सुत्केरी भएका थिए ।
माथिल्लो खोप्री गाउँमा १–८ कक्षासम्म पठनपाठन हुने नदैदेवि आधारभुत विद्यालय रहेको छ । यस विद्यालयमा ६० जना विद्यार्थी रहेका छन् । दुई अनुदान शिक्षक र तीन दरवन्दी गरी ५ जना शिक्षकले पठनपाठन सञ्चालन गर्दै आएका शिक्षक छविलाल थापाले बताए । उनले भने, यस्तै तल्लो खोप्री गाउँमा पनि १–६ कक्षासम्म पठनपाठन हुने सामुदायिक विद्यालय रहेको छ ।


यहाँका सामुदायिक विद्यालयका भौतिक संरचना पुराना जिर्ण नै छन् । यो गाउँमा थुपै समस्या छन् । शिक्षक थापाले भने, उम्मेदवार गाउँमा आएपछि यिनै समस्या समाधन गर्न माग राखौँला भन्ने हो । तर अहिलेसम्म गाउँमा धेरैजसो उम्मेदवार पुगेका छैनन् ।

प्रकाशित मिति : २०८२ माघ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस