‘आफूलाई बदलौँ, अनि देश बदलिन्छ’ : उपसभापति शर्मा

 नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको विद्यमान राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्न नेपाली कांग्रेस ‘नयाँ अवतार’ मा मधेस आएको उद्घोष गरेका छन् । मधेसको ऐतिहासिक र उर्वर भूमिबाट देशवासीलाई सम्बोधन गर्दै शर्माले आगामी निर्वाचन केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई संकटमा परेको देशलाई सम्हाल्ने र नागरिकको घाउमा मलम लगाउने महायज्ञ भएको बताए।

स्वर्गीय नेताहरूको योगदानलाई स्मरण गर्दै उपसभापति शर्माले मधेस र देश रूपान्तरणको अधुरो यात्रा पूरा गर्ने प्रतिज्ञा गरे ।

मधेसी भाषामा समेत सम्बोधन गर्दै शर्माले रूपान्तरणको सुरुवात आफैँबाट हुनुपर्नेमा जोड दिए। ‘यहाँ यदि संसार बदल चाहै छि, देश बदल चाहै छि त सबसे पहिले अहाँ बदलु,’ (यदि तपाईं संसार र देश बदल्न चाहनुहुन्छ भने पहिले आफैँ बदलिनुस्) भन्दै उनले कांग्रेस कार्यकर्ताहरूलाई नयाँ सोचका साथ जनताको बीचमा जान निर्देशन दिए।

उनले आगामी फागुन २१ गतेसम्म पुग्दा सिङ्गो देश ‘रुख’ र ‘गाछी’ (रुखको मधेसी शब्द) को मनोविज्ञानमा गोलबन्द हुने दाबी गरे । उनले प्रवासमा रहेका नेपालीहरूको नागरिकता र लगानीको सुरक्षा गर्ने तथा उनीहरूलाई आगामी दिनमा मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिज्ञा पनि दोहोर्‍याए ।  

प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस