जुम्लाका ६ उम्मेदवारले अझै खोलेनन् बैंक खाता

निर्वाचन कार्यालय जुम्ला । फाईल तस्बिरः कर्णाली मिसन

जुम्ला– प्रतितिनिधि सभा निर्वाचनमा एक जना स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा रहेको जुम्लामा हालसम्म चार जनाले मात्रै बैंक खाता खोलेका छन् । भने ६ जना अहिले सम्म खाता खोल्न सकेका छैनन् । निर्वाचन आयोगले चुनावी प्रचार प्रसारमा हुने खर्च मितव्यायी र पारदर्शी बनाउन दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्ने निर्देशन दिएको थियो ।

निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा वा कुनै व्यक्ति तथा संस्थाबाट २५ हजारभन्दा बढी सहयोग लिँदा अनिवार्य छुट्टै खाता खोली त्यही खाताबाट मात्रै खर्च गर्न निर्देशन दिएको थियो । तर जुम्लाका ६ वटा राजनीति दल र उम्मेदवारले निर्वाचन आयोगको निर्देशनलाई अवज्ञा गर्दै आएका छन् । फागुन ४ गतेपछि ठुलाठुला चुनावी सभा, भेला, प्रर्चा पम्पलेट, क्याप छाप्ने, बाजागाजालगायतका महँगो खर्च गरे पनि बैंक खातामार्फत कारोबार भने गरेका छैनन् ।

जुम्लाका हकमा प्रत्यक्षतर्फका उम्मेदवारले ३० लाखसम्म चुनाव खर्च गर्न पाउने, त्यसका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने व्यवस्था भए पनि अहिले ६ जनाले बैंक खाता खोलेको विवरण नपठाएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र कँडेलले बताए । १० जना उम्मेदवारमध्ये नेकपा एमालेका शान्तिलाल महत, नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारी, रास्वपाका विनिता कठायत, प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल गरी चार जना उम्मेदवारले मात्रै खाता सञ्चालन गरेका छन् ।

बाँकी ६ जनामध्ये नेपाल जनता पार्टीका रनिल विक्रम शाही, नेपाल मजदुर किसान पार्टीका विर्खबहादुर रावतले खाता खोल्न सिफारिससमेत लिएका छैनन् । भने सिफारिस लिएका नेपाली कांग्रेस, नेपाल जनता पार्टी, नेकपा (माओवादी) र नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारले अझै खाता खोलेको विवरण नबुझाएको निर्वाचन कार्यालय प्रमुख कँडेलले जानकारी दिए ।

‘निर्वाचन खर्चका लागि छुट्टै खाता सञ्चालनको भएको विवरण पठाउन ताकेता गरेका छौं,’ उनले भने, ‘सिफारिस लिएका चार दलले खाता खोलिसकेको भनेका छन् । विवरण प्राप्त नभई आधिकारिता मानिँदैन । खाता खोले पनि विवरण उपलब्ध भएको छैन । हामीले चाँडो खाता खोल्न र विवरण उपलब्ध गराउन अनुरोध गरेका छाैं । तर दलहरूले निकै ढिलाइ गरिरहेका छन् ।’ खाता सञ्चालनबिनै निर्वाचन प्रचारमा भइरहेको सबै खर्चलाई अपारदर्शी मानिन्छ ।

तामजामका साथ गाउँगाउँमा भइरहेका बेलाको बैंकमार्फत खर्च गर्नुपर्ने भनिए पनि दलहरूले अटेरी गरिरहेका छन् । साथै सबै दल र उम्मेदवारले आफ्ना घोषणापत्र निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान भए पनि चार दलले मात्रै बुझाएका छन् । नेपाल जनता पार्टी, नेकपा (माओवादी), प्रलोपा, रास्वापाले मात्रै घोषणापत्र बुझाएका छन् भने । छ जना उम्मेदवारले अझै बुझाएका छैनन् ।

प्रकाशित मिति : २०८२ फाल्गुन १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस