अबको सरकारलाई आम नागरिकको खुलापत्र

जुम्ला । २०८२ को निर्वाचनले नेपाली राजनीतिमा एउटा बलियो ‘ब्रेक’ लगाएको छ। आम नागरिक, विशेष गरी जेनजी पुस्ताले रास्वपालाई जुन अभूतपूर्व शक्ति सुम्पेका छन्, त्यो अब ‘अवसर’ मात्र होइन, कडा ‘अग्निपरीक्षा’ र अन्तिम ‘आशा’ पनि हो। 

अब नयाँ नेतृत्व र रास्वपाका लागि “हामीलाई काम गर्न दिइएन” वा “पुरानो पद्धति बाधक बन्यो” भन्ने कुनै पनि बहाना हुने छैन। जनताले काम गर्नकै लागि सत्ताको साँचो सुम्पेका हुन्। नयाँ सरकारले निम्न बुँदामा केन्द्रित भएर  काम गरोस् भन्ने अपेक्षा आमनागरिकले गरेका छन्:

१. युवा पलायनको अन्त्य र स्वदेशमै रोजगारी:

 त्रिभुवन विमानस्थलमा बाकसमा फर्किने र खाडीमा पसिना बगाउने युवाहरूको लर्को रोक्न ठोस ‘रोजगारी प्याकेज’ ल्याउनुपर्छ। अबको सरकारले ‘रेमिट्यान्स’ मा होइन, ‘प्रोडक्सन’ र ‘स्वदेशी उद्यम’ मा देशको अर्थतन्त्र टिकाउनुपर्छ। 

२. राष्ट्रिय स्वाधीनता र बाह्य हस्तक्षेपको अन्त्य: 

नेपालको आन्तरिक मामिलामा हुने कुनै पनि वैदेशिक चलखेल र हस्तक्षेपलाई पूर्णतः 

निस्तेज पार्दै ‘नेपालको निर्णय नेपालीले नै गर्ने’ स्वाभिमानी राष्ट्रियताको जग बसाल्नुपर्छ। 

३. सहकारी पीडितमैत्री न्याय: 

बचतकर्ताको अर्बौँ रकम डुबाउने अपराधीहरूलाई जेल हाल्ने र पीडितको पसिनाको कमाइ (साँवा-ब्याजसहित) फिर्ता गर्ने कडा कानुन र संयन्त्र तत्काल कार्यान्वयन हुनुपर्छ।

४. डिजिटल प्रशासनिक सेवा: 

सरकारी अड्डामा लाइन लाग्ने र कर्मचारीको ‘चाकडी’ गर्नुपर्ने युगको अन्त्य हुनुपर्छ। सबै सेवा ‘डिजिटल गभर्नेन्स’ मार्फत नागरिकको हातमा पुग्नुपर्छ। 

५. स्थानीय विकास र आत्मनिर्भरता: 

सहरमुखी विकासलाई गाउँ-गाउँका उत्पादनशील क्षेत्रमा पुर्‍याएर कृषि र स्थानीय उद्योगलाई प्रोत्साहन गर्नुपर्छ।

यो निर्वाचनको नतिजाले प्रष्ट पारेको छ, आम जनताले जति सजिलै सत्तामा पुर्‍याएका छन्, काम नगर्ने र जनतालाई धोका दिनेलाई सडकमा पुर्‍याउन पनि बेर लगाउँदैनन्। अब भाषण र शासन होइन, नतिजामुखी प्रशासन देखिनुपर्छ। 

अन्तमा,निरन्तर खबरदारी र निगरानी सहित निकट भविस्यमा बन्ने सरकारलाई हार्दिक शुभकामना ।।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस