जुम्ला कारागारका ६२ जना कैदीवन्दीको स्वास्थ्य परिक्षण


जुम्ला – जुम्ला कारागारका कैदीवन्दीको स्वास्थ्य परिक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले ०८२ चैत १० गते स्वास्थ्य परीक्षण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय र जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीले कैदीबन्दीको सामान्य शारीरिक परीक्षणसँगै रक्तचाप, मधुमेह, पोषण अवस्था, दीर्घरोगको जोखिम तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या पहिचान गरिएको थियो ।


कारागार जस्तो सीमित वातावरणमा लामो समय बस्नुपर्दा देखिन सक्ने तनाव, चिन्ता, डिप्रेसन, अनिद्रा लगायतका मानसिक स्वास्थ्य समस्याको मूल्यांकन गरी आवश्यक परामर्श प्रदान गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । उनका अनुसार, मानसिक स्वास्थ्य परीक्षणका क्रममा कैदीबन्दीलाई सकारात्मक सोच, आत्मबल वृद्धि तथा तनाव व्यवस्थापनका उपायका विषयमा परामर्श गरिएको छ । परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ । जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।

कारागारका ७६ जना कैदीवन्दी मध्ये ६२ जना स्वास्थ्य परीक्षण गरिएको छ । मानसिक स्वास्थ्य सम्बन्धि उपचार तथा परामर्श २१ जना, क्षयरोगको लागि सम्भाबित सिफारिस गरि परिक्षण गर्न पठाईएको ९ जना र उच्च रक्तचापका १० जना रहेका छन् ।
कार्यालय प्रमुख शर्माका अनुसार, कारागार भित्र रहेका नागरिकहरू पनि राज्यका समान अधिकार प्राप्त नागरिक भएकाले उनीहरूको स्वास्थ्य सुरक्षामा कुनै कमी हुन नदिन यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने छ । विश्व क्षयरोग दिवसका अवसरमा कैदीवन्दीको स्वास्थ्य परिक्षण गर्नुका साथै फलफुल पनि वितरण गरिएको हो । गएको पुस महिनामा पनि कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।
यस किसिमका स्वास्थ्य परीक्षण कार्यक्रमले रोगको प्रारम्भिक पहिचान, उपचारमा सहजता र मानसिक सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास लिइएका छौँ, उनले भने ।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस