काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित सरकारमा उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता पोखरेलले हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलजस्ता ‘हेभीवेट’ उम्मेदवारलाई पराजित गर्दै संसदको यात्रा तय गरेका थिए ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन शाहलाई काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी गराउन सडकदेखि सामाजिक सञ्जाल र संगठनात्मक मोर्चामा पोखरेलले अग्रपंक्तिमा रहेर भूमिका खेलेका थिए । बालेनको नेतृत्वमा उनले महानगरपालिकामा शिक्षा सहायक विज्ञ र सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरे ।
महानगरमा रहँदा शिक्षा क्षेत्रमा विशेषगरी कक्षा १ देखि १२ सम्मका करिब २० हजार विद्यार्थीलाई पारदर्शी ढंगले छात्रवृत्ति वितरण गर्ने कार्यको उनले नेतृत्व गरेका थिए । जसका लागि महानगरले वार्षिक साढे ३ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।
यस्तै, सामुदायिक विद्यालयमा ‘स्मार्ट बोर्ड’ जडान, विद्यालय गुरुयोजना निर्माण, ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको सुरुवात र विद्यालयको भौतिक सुधारमा उनले भुमिका खेलेका थिए । २०५२ फागुन १ गते काठमाडौँमा जन्मिएका पोखरेल काठमाडौँ क्षेत्र नम्बर–५ कै स्थायी बासिन्दा हुन् ।
अमेरिकाबाट प्रारम्भिक र प्लस टु तहको शिक्षा पूरा गरेर नेपाल फर्किएका उनले काठमाडौँ विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् । विवेकशील साझा पार्टीको युवा संगठन र केन्द्रीय समितिबाट राजनीतिक यात्रा सुरु गरेका पोखरेल हाल राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सहप्रवक्ता हुन् ।
२०७२ सालको भूकम्पका बेला अमेरिकाबाट ‘अर्थक्वेक फन्ड’ सङ्कलन र व्यवस्थापनमा सक्रिय रहेका उनी वैकल्पिक राजनीतिको प्रखर वक्ताका रूपमा चिनिन्छन् ।
नवनियुक्त मन्त्री पोखरेलले महानगरपालिकामा आर्जन गरेको शैक्षिक सुधारको अनुभवलाई अब देशभर विस्तार गर्ने लक्ष्य राखेका छन् । उनले सार्वजनिक शिक्षाको गुणस्तर सुधार, सुशासन, पारदर्शिता, युवा रोजगारी र डिजिटल अर्थतन्त्रलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् ।



