पत्रकारिता पृष्ठभूमिकी प्रतिभा रावललाई संघीयता सबलीकरणको जिम्मा

चुनावी अभियानको क्रममा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जनकपुरमा भनेका थिए– ‘अब विकास माग्न काठमाडौं आउने होइन, पशुपतिनाथ दर्शन गर्न मात्रै आउने हो ।‘ यो भनाइले बालेनको संघीयताप्रतिको प्रतिवद्धता देखाएको थियो ।

यसको दुई महिना नहुँदै बालेन देशको प्रधानमन्त्री बनेका छन् भने संघीयता कार्यान्वयनको उनको प्रतिवद्धता पूरा गर्ने जिम्मेवारीमा आएकी छिन् जुझारु महिला प्रतिभा रावल । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता एवं सांसद प्रतिभा रावलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन गरी दुई महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुवै मन्त्रालयका मुख्य कामहरु संघीय प्रणालीसँग मिलेर अघि बढ्नुपर्ने जिम्मेवारी हुन् ।

पार्टीभित्र शालीन तर तार्किक नेतृ रूपमा चिनिएकी रावल पहिलो संसदीय यात्रामा नै मन्त्री बन्न सफल भएकी छन् । पत्रकारिताको एक दशक लामो अनुभव र राजनीतिक सक्रियताले उनलाई ३२ वर्षकै उमेरमा सिंहदरबारको महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याएको हो । 

प्रतिभा रावलको जन्म सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा भएको हो । आफ्नो प्रारम्भिक शिक्षा कञ्चनपुरमै पूरा गरे पनि उच्च शिक्षा र व्यावसायिक करिअरका लागि उनले काठमाडौंलाई कर्मथलो बनाइन् । मध्यमवर्गीय परिवारमा हुर्किएकी रावलले आफ्नो क्षमता र मिहिनेतका भरमा राष्ट्रिय राजनीतिमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

राजनीतिमा होमिनुअघि रावलले झण्डै १० वर्ष पत्रकारिता क्षेत्रमा बिताइन् । उनले साउथ एसिया चेक, रिपब्लिका र ग्यालेक्सी फोरके टीभी जस्ता सञ्चारमाध्यममा काम गरेकी थिइन् । पत्रकारिताका क्रममा उनले सामाजिक मुद्दा, सुशासन र नागरिकका समस्यालाई नजिकबाट नियाल्ने अवसर पाइन् । ग्यालेक्सी टीभीमा काम गर्ने क्रममै उनी हालका रास्वपा सभापति रवि लामिछानेसँग निकट भइन् । 

सञ्चारकर्मकै क्रममा विकास भएको यो सहकार्यले पछि राजनीतिक स्वरूप लियो र उनी रास्वपाको स्थापनाकालदेखि नै सक्रिय सदस्यका रूपमा जोडिन पुगिन् ।

रास्वपाको कोर टिमदेखि र संसद्सम्मको यात्रा

रास्वपा गठन भएको छोटो समयमै रावलले पार्टीभित्र आफ्नो बलियो उपस्थिति देखाइन् । पार्टीले समानुपातिकतर्फका उम्मेदवार चयन गर्न गरेको प्राइमरी इलेक्सनमा उनी महिलातर्फ पहिलो स्थान हासिल गर्न सफल भएकी थिइन् । यही लोकप्रियताका कारण उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनिन् ।

सभापति रवि लामिछानेको टिममा रहेर काम गर्ने रावललाई लामिछानेले ‘पर्दा पछाडिकी योद्धा’को उपमा दिएका छन् । लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा रहेर काम गरेकी रावलले पार्टीको कानुनी र नीतिगत संकटका बेला महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । केही समय कार्यवाहक प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी उनी हाल पार्टीको सहप्रवक्ता समेत हुन् । 

मन्त्रीका रूपमा यस्ता छन् चुनौती

प्रतिभा रावलले सम्हालेका दुवै मन्त्रालय हालका दिनमा निकै चुनौतीपूर्ण मानिन्छन् । खासगरी देशभरको कर्मचारी प्रशासनको जिम्मेवारी यो मन्त्रालयमा छ । अन्तर मन्त्रालयदेखि अन्तर सरकार समन्वय गरेर अघि बढ्नुपर्ने जिम्मेवारी यो मन्त्रालयलाई हुन्छ । स्थानीय तहदेखि प्रदेशसम्म देखिएको कर्मचारी सरुवा र पदस्थापनको समस्या समाधान यो मन्त्रालयको पहिलो चुनौती हो । 

लामो समयदेखि रोकिएको ‘संघीय निजामती सेवा ऐन’ ल्याउन र कर्मचारी प्रशासनमा रहेको बेथिति अन्त्य गर्न उनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेछ । त्यसबाहेक अन्तर सरकार समन्वयलाई प्रभावकारी बनाएर सेवा प्रवाहमा एकरुपता कायम गर्ने चुनौती पनि यो मन्त्रालयलाई छ । 

उता भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा हाल देशमा सहकारी क्षेत्रमा देखिएको ठुलो ठगी र संकट समाधान गर्नु उनको पहिलो र मुख्य चुनौतीको रुपमा देखिएको छ । पार्टी सभापति लामिछानेले घोषणा गरेको १०० दिनभित्र बचतकर्ताको रकम फिर्ता गराउने र दोषीलाई कारबाही गर्ने प्रक्रियालाई उनले तार्किक निष्कर्षमा पुर्‍याउनुपर्नेछ ।

वर्षौंदेखि बल्झिएको भूमिहीन र सुकुम्बासी समस्यालाई व्यवस्थित गर्दै जग्गाधनी पुर्जा वितरणको कामलाई गति दिनु उनको अर्को महत्त्वपूर्ण जिम्मेवारी उनको हुनेछ ।

प्रकाशित मिति : २०८२ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस