जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नं. ४ स्थित हाटसिजा स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपाल, क्याड नेपाल जुम्ला र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको प्राबिधिक सहयोग एवं कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा कनकासुन्दरीका स्थानीयले विभिन्न रोगको परिक्षण तथा उपचार गरेका छन् । शिविरमा नाक, कान तथा घाँटी, दाँत, स्त्रीरोग सम्बन्धी समस्या, सेतोपानी बग्ने, गनाउने तथा चिलाउने जस्ता समस्या, गर्भवती जाँच, पाठेघरको मुखको जाँच तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य शिविरबाट कुल ६२५ जना नागरिक लाभान्वित भएका छन् । जसमा महिला ४ सय र पुरुष २२५ जना लाभान्वित भएका छन् ।

दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पाउन कठिन हुने अवस्थामा सञ्चालन गरिएको यस्तो शिविरबाट स्थानीयवासीलाई राहत मिलेको छ । सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आर्थिक अभावले आउजाउ गर्न समेत कठिन भईरहेका विपन्न नागरिकलाइ विशेष राहत मिलेको छ ।
यस्तै शिबिरमा गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आर्चायले नागरिकहरुको राहतका लागि आगामी दिनमा पनि निशुल्क स्वास्थ्य शिबिरहरु सञ्चालन गरिने बताए ।
पालिकाले साझेदार संस्थाहरुसंगको समन्वय, सहयोग एवं सहकार्यमा निःशुल्क स्वास्थ्य शिबिरहरु सञ्चालन गर्ने योजना लिएको अध्यक्ष आर्चायले उल्लेख गरे ।



