कनकासुन्दरीले उल्ट्यायो संघका दुई निर्णय: आईतबार विधालय बन्द नगर्ने, वैशाख ७ बाटै पठनपाठन 

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघिय सरकारको निर्णय उल्टाउदै आईबार विदा नगर्ने निर्णय गरेको छ । सरकारले आईतबार पनि बिदा दिने निर्णय गरेपनि पठन पाठनमा असर पर्ने भन्दै सामुदायिक विधालयका हकमा आईतबार बिदा नगर्ने निर्णय गरेको हो।

आईतबार बसेको कनकासुन्दरी गाउँपालिकाको कार्यपालिका बैठकले विधालयहरुमा आईतबार बिदा नगर्ने, र ७ बैशाखबाटै विधालय संचालन गर्ने निर्णय भएको कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाले बताईन् ।

जिल्लाका आठ स्थानीयतह मध्य केन्द्र सरकारको निर्देशन र निर्णय उल्ट्याएर निर्णय गर्ने कनकासुन्दरी पहिलो पालिका हो । स्थानीय सरकारको स्वायत्त अधिकार कनकासुन्दरीले प्रयोग गरेको छ । 

साथै सरकारले नयाँ शैक्षिक शत्रको भर्ना अभियान र पठनपाठन वैशाख १५ गतेपछि मात्र सुचारु गर्न निर्देशन दिएको छ । तर कनकासुन्दरीले उक्त निर्णयलाई पनि उल्ट्याउदै वैशाख ७ गतेबाट नियमित पठनपाठन संचालन गर्ने सबै विधालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विव्यसलाई जानकारी गराएको छ ।

कार्यबाहक अध्यक्ष प्रेमकली बुढाद्वारा हस्ताक्षरित सूचना जारी गर्दै केन्द्र सरकारको आईतबार पनि बिदा गर्ने, वैशाख १५ देखि २१ सम्म भर्ना अभियान संचालन गर्ने निर्णयले पठपाठन प्रभावित हुने ठहर गर्दै आफू अनुकुलको निर्णय गरेको छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. ६७, मिति २०८२।१२।२६ गतेको निर्णय कार्यन्वयन गराउने सम्वन्धी प्राप्त पत्रानुसार शैक्षिक शत्र २०८३ मा विद्यार्थी भर्ना अभियान वैशाख १५ देखि र वैशाख २१ गतेबाट नियमित पठनपाठन गराउने तथा शैक्षिक संस्थाहरुमा  आइतवार पनि सार्वजनिक विदा दिने भनिएको थियो |

उक्त निर्णयले हिमाली जिल्ला अन्तर्गत जुम्ला जिल्लाका सामुदायिक विद्यालयहरु पौष महिनाको १५ दिन र माघ महिनाको ३० दिन गरी जम्मा ४५ दिन (मिन पचास) विदा हुनेभएकाले तोकिएको पाठ्यघण्टा र पाठ्यक्रम अनुसारको पठनपाठन पुरा नहुने देखिन्छ ।

तसर्थ कनकासुन्दरीले  विद्यालर्थीहरुको सिकाई उपलब्धीलाई मध्यनजर गर्दै कनकासुन्दरी गाउँपालिका गाउँ कार्यपालिकाको वैठकको मिति २०८३।०१।०६ गतेको निर्णयानुसार मिति २०८३।०१।०७ गतेवाट विद्यालयमा नियमित पठनपाठन गरि आइतबार पनि विद्यालय निरन्तर संचालन गर्न सम्बन्धित सम्पुर्ण प्रधानाध्यापक शिक्षक विद्यार्थी, अभिभावक तथा शैक्षिक सरोकारवालाहरुमा जानकारी पठाएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस