हिमाको देवारगाउँमा रोकियो बालविवाह

जुम्ला – कालिकोटको खाँडाचक्र नगरपालिका – ८ दशला १४ वर्षीया बालिका र जुम्लाको हिमा गाउँपालिका – १ देवार गाउँका १६ वर्षीय बालक विच हुन लागेको बालविवाह रोकिएको छ । स्थानीय जनप्रतिनिधि, प्रहरी, इन्सेक र बालविवाह विरुद्धको साँझा अभियान जुम्लाको सक्रियतामा बालविवाह रोकिएको हो । हिमा गाउँपालिका बालविवाह मुक्त घोषणा गरिएको गाउँपालिका पनि हो ।


बालक पक्षले बालिकाको घरबाट बैशाख २४ गते राति भगाए पछि इन्सेक कालिकोट प्रतिनिधि एवम बालविाह विरुद्ध साँझा अभियान सञ्जालका जिल्ला अध्यक्ष कालीबहादुर मल्लले जानकारी पाए । त्यसपछि कालिकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीलाई जानकारी गराए । जुम्लाका प्रहरी प्रमुख डिएसपी रबिनबावु रेग्मी र जुम्लाका प्रतिनिधि मानदत्त रावललाई पनि जानकारी भयो । दुई जिल्लाका प्रहरी, जनप्रतिनिधि र इन्सेक प्रतिनिधिले चौतर्फी खोजी गरेपछि बालविवाह रोकिन पुग्यो ।
१४ वर्षकी छोरीलाई भगाएर लिएपछि इन्सेक, प्रहरीको सहयोगले छोरीलाई बालविवाह गर्नबाट रोक लगाई घर फर्काउन सफल भएको बालिकाकी आमा मुनपुरा नेपालीले वताइन् । उनले बालविवाह रद्ध गर्न पहल गर्ने सबै निकाय तथा व्यक्तिलाई धन्यवाद व्यक्त गरेकी छन् ।


कक्षा ९ मा अध्ययनरत बालिकालाई भगाएर जुम्लाका बालकको घरमा पु¥याई सकेपछि जुम्ला प्रहरीले प्रहरी चौकी बड्की मार्फत खोजतलास गरी बालिकाको आमाको जिम्मा लगाइ कालिकोट फर्काएको हो । बालक पक्षले बैशाख महिनामा जोतिस लगन हेराइ विवाह गर्ने तयारी गरेका थिए ।


बालविवाह गरेमा शिक्षा रोकिने, स्वास्थ्यमा समस्या आउने, मानशिक तनाव वढ्ने र घरेलु हिंसा समेत वढ्ने भएकाले सबै ठाउँबाट बालविवाहको अन्त्य गर्न यसरी मानव अधिकारकर्मी, पत्रकार नागरिक समाजले प्रहरीलाई साथ दिनु पर्नेमा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी खत्रीले बताए ।


नेपालको मुलुकी देवानी सँहिता २०७४ अनुसार बिवाह गर्न उमेर २० बर्ष पुगेको हुनु पर्दछ । २० बर्षभन्दा कम उमेरमा गरिएको बिवाहलाई बालविवाह मानिन्छ । सोही कानून अनुसार बालविवाह गर्ने गराउनेलाई ३ बर्ष कैद र तीस हजार रुपैया जरिवानाको ब्यवस्था कानुनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस