तातोपानी गाउँपालिका स्तरीय नागरिक समाज गठन संयोजकमा पत्रकार सागर परियार चयन

जुम्ला — तातोपानी गाउँपालिका स्तरीय नागरिक समाजको संयोजकमा पत्रकार सागर परियार चयन भएका छन् । बुधबार तातोपानीमा आयोजित सर्वपक्षीय भेलाले परियारलाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको हो ।

नवनिर्वाचित संयोजक परियारको नेतृत्वमा विभिन्न क्षेत्रको प्रतिनिधित्व रहने गरी १९ सदस्यीय पालिका स्तरीय नागरिक समाज गठन गरिएको छ । यसअघि उक्त समाजको संयोजकको जिम्मेवारी प्रेम अधिकारीले सम्हाल्दै आएका थिए ।

सहयात्रा तेर्सो परियोजनाको सहजीकरण तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नागरिक समाज गठन गरिएको सहयात्रा तेर्सो परियोजनाका अधिकृत प्रकाश शाहीले जानकारी दिए ।

उनका अनुसार समाजले गाउँपालिकाभित्र रहेका कुरिती कुसंस्कार बेथिति तथा सामाजिक विकृतिविरुद्ध खबरदारी गर्नेछ । साथै सार्वजनिक सरोकारका विषयमा नागरिकको आवाज उठाउने स्थानीय तहलाई आवश्यक सुझाव दिने र सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउने उद्देश्यले समाज गठन गरिएको हो ।

नवनिर्वाचित संयोजक सागर परियारले पालिकाको समग्र विकास सुशासन पारदर्शिता तथा जनचासोका विषयमा सक्रिय रूपमा वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिक समाजलाई जनताको आवाज बोल्ने साझा मञ्चका रूपमा अघि बढाइने बताए ।

प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस