तातोपानीमा बाल भेला: नीति र बजेटमा बालबालिकालाई प्रथामिकता दिन जोड

जुम्ला ।  तातोपानी गाउँपालिकामा बाल भेला सम्पन्न भएको छ । तातोपानीका १ देखी ९ सम्मका बालबालिकाको सहभागितामा संचालित बाल भेला विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

पालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष अनुराधा चौलागाईंको अध्यक्षाा तथा तातोपानी गाउँपालिकाकी उपाध्यक्ष श्रीमती रेवती रावल प्रमुख आतिथ्यतामा बाल भेला सम्पन्न भएको छ ।

भेलाले तातोपानी गाउँपालिकाको नीति तथा कार्यक्रममा बालबालिकाका सवालहरुलाई प्रथामिकता दिन माग गरेका छन् । कार्यक्रममा बालबालिकाहरूलाई एकै ठाउँमा भेला गराई उनीहरूका साझा समस्या, आवश्यकता तथा सवाल पहिचान गर्ने लगायतका विषयमा छलफल गरिएको थियो । 

भने, छलफलका माध्यमबाट बालबालिकाको वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गरी समस्या समधानका लागि स्थानीय सरकारलाई दबाब दिने समेत बाल भेलाको निष्कर्ष छ ।

बालभेलाले विशेषगरी उपेक्षित समुदायका बालबालिकाको माग र चाहनालाई महत्व दिँदै उनीहरूको आवाज योजना प्रक्रियामा समावेश गर्ने विषमा वकालत गर्ने संकल्प गरेको छ ।

पहिचान गरिएका आवश्यकता तथा प्राथमिकतालाई स्थानीय योजना तर्जुमा र बजेट विनियोजनसम्बन्धी निर्णय गर्ने निकायसमक्ष प्रस्तुत गरी बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने उद्देश्य कार्यक्रमको रहेको थियो। 

भेलाले तातोपानी गाउँपालिका स्तरीय बाल संजालको अध्यक्षमा पुन: अनुराधा चौलागाँईलाई चयन गरेको छ । बाल संजालकी अध्यक्ष चौलागाँईले स्थानीय तहको नीति र बजेट ल्याउने समय नजिकीएकाले बालबालिकाका पक्षमा विशेष प्रथामिकता दिन समेत माग गरेको बताईन् । 

बालभेलाबाट तातोपानी गाउँपालिकाभित्र बालबालिकासँग सम्बन्धित २९ वटा मुख्य समस्या तथा सवाल पहिचान गरी कार्ययोजना निर्माण गरिएको थियो। उक्त कार्ययोजना बाल सञ्जालद्वारा गाउँपालिका उपाध्यक्ष रेवती रावललाई हस्तान्तरण गरिएको थियो। बालबालिकाहरूलाई चार समूहमा विभाजन गरी सवाल पहिचान गरिएको जानकारी शान्ती भकी सेजुवालले दिनुभयो।

कार्यक्रममा सेभ द चिल्ड्रेन, वर्ल्ड भिजन इन्टरनेशनल तथा तातोपानी गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो भने किर्डाक नेपालको सहजीकरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र बाल सञ्जालको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा उपाध्यक्ष रेवती रावलले विगतको तुलनामा यस वर्ष बालकेन्द्रित नीति तथा बजेट निर्माण तथा कार्यान्वयनमा विशेष प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित मिति : २०८३ जेष्ठ ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस