जुम्ला । एक हप्तादेखि अबरुद्व त्रिवेणी-टोप्ला जोड्ने सडक खुलाउन जिल्ला प्रशासन कार्यालय जुम्लामा छलफल गरिएको छ । अविरल बर्षाका कारण आएको सुक्खा पहिरोले एक हप्तादेखि अबरुद्व सडक संचालनमा नआएपछि तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले चासो राखी सोमबार प्रमुख जिल्ला अधिकारीसंग छलफल गरेका हुन् ।
तातोपानी गाउँपालिकाको वडा नं ७ र ८ मा पर्ने दर्जनौ गाउँलाई यातायातमा जोड्ने एकमात्र माध्यम त्रिवेणी-टोप्ला सडक पहिरोले हप्तादेखि अबरुद्व भएपछि आवतजावतनै बन्द भएको छ ।
अबरुद्व सडक तत्काल खुलाउन र वर्षातपछि भत्कीएका घरहरुको पूर्ननिर्माणका लागि प्रमुख जिल्ला अधिकारीसंग घनिभूत छलफल गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले बताए ।
उनले भने,´त्रिवेणी-टोप्ला सडक सडक डिभिजन मातहत हो । तर स्थानीयबासीहरु गाउँपालिकाले किन खोलेन भन्छन् । हामीले सडक डिभिजनसंग पनि समन्वय गरिरहेकै थियौ । तर सडक नखुलेपछि प्रशासनमा छलफल गरेका हौ । छलफल पश्चात सडक केहिदिनमा खुल्ने आशा छ ।`
साथै भत्किएका घरहरूको पुर्ननिर्माणका लागि पिडितलाई राहत उपलब्ध गराउन आबश्यक पहल गरिदिन समेत प्रजिअलाई आग्रह गरिएको अध्यक्ष चौलागाँईको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तेज प्रकाश प्रसाईंले अबरुद्व सडक खुलाउन तत्काल समन्वय गर्ने बताए । मंगलबारबाटै सडक खुलाउने काम अघि बढाइने प्रजिअ प्रसाईंको भनाई छ । साथै भत्कीएका घरको पुर्ननिर्माणका लागि गृह मन्त्रालयसंग समन्वय गर्ने समेत प्रतिबद्वता व्यक्त गरे ।
छलफल कार्यक्रममा तातोपानी गाउँपालिका वडा नं ७ का अध्यक्ष तिलक रावत, वडा नं ८ का अध्यक्ष नर बहादुर रावत, वडा नं ५ का कार्यवाहक अध्यक्ष रत्नचन्द्र उपाध्याय र स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाँई सहभागि थिए ।




