जुम्ला । तातोपानी गाउँपालिका वडा नं ३ र ५ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने तयारीलाई तिब्रता दिएको छ । चालु आर्थिक वर्ष भित्रै दुई वटा वडालाई पहिलो चरणमा घोषणा गरी पालिकालानै घोषणा गर्ने लक्ष्यनुसार तयारी भइरहेको हो ।
बुधबार तातोपानी गाउँपालिकामा बालमैत्री स्थानीय शासन वडा घोषणाका ५१ सूचक माथि ब्यापक छलफल गरिएको छ । गाउँपालिकाको समन्वय तथा किर्डाकद्वारा संचालित सहयात्रा तेस्रो परियोजनाको सहयोगमा बालमैत्री स्थानीय शासन वडा घोषणाका ५१ सूचक माथि बृहत्त छलफल गरिएको हो ।
५१ वटा सूचक मध्य अधिकांश सूचक ९० प्रतिशत सम्म पुगेको देखिन्छ । ९५ देखि ९५ प्रतिशत सम्म सूचक पुरा भएमा घोषणा गर्न सकिने प्रावधान छ । यदपी गाउँपालिका भने सबै सूचक पूर्ण रुपमा पुरा भएपछि मात्र घोषणा गर्ने तयारीमा छ ।
बुधबारको छलफलमा दुई वटा वडा र गाउँपालिकाले बालमैत्री स्थानीय शासन वडा घोषणाको कार्ययोजना समेत बनाएका छन्।
बालबालिका क्षेत्रको विकासका लागि पालिकाको समन्वय तथा पहलमा सहयात्रा तेस्रो परियोजनाले उल्लेखीय रुपमा लगानी गरेको छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले अधुरा रहेका सूचकहरु पूरा गर्न पालिकादेखि वडा सक्रिय रुपमा लाग्नु पर्ने बताए । घोषणाका लागि घोषणा गर्ने दिगो र कार्यान्वयन मुखि हुने गरी घोषणा गर्नु पर्ने उल्लेख गरे ।
सम्बन्धित वडाका जनप्रतिनिधि बढी सक्रिय भएको खण्डमा सहज हुने भन्दै अध्यक्ष चौलागाँईले वडा सरकारको सक्रियता माथि प्रश्न समेत गरे ।
अब दुई वटा वडामध्य कुन वडाले अगाडी घोषणा गर्ने बारे प्रतिस्प्रर्धाका रुपमा काम गर्न समेत अनुरोध गरे । तातोपानी-३ का अध्यक्ष गोर्कण रावलले बालबालिकाको विकासलाई प्रथामिकता दिदै बालमैत्री स्थानीय शासन वडा घोषणा गर्न लागेको बताए । यस कार्यमा सहयोग गर्न समेत सबैलाई वडाध्यक्ष रावलले आग्रह गरे ।
सूचक माथिको छलफल कार्यक्रमलाई सहयात्रा तेस्रो परियोजनाका परियोजना संयोजक प्रकाश शाहीले सहजीकरण गरेका थिए।




