जुम्ला – कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक बन्दै गएको छ । कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२–०८३ मा प्रदेशभर ३६ हजार ६ सय २४ जना मानसिक स्वास्थ्यसम्बन्धी बिरामीले उपचार सेवा लिएका छन् । तीमध्ये ११ हजार ४ सय ८४ जना नयाँ बिरामी र २५ हजार १ सय ४० जना नियमित फलोअपमा आएका हुन् । मानसिक स्वास्थ्यसम्बन्धी बिरामीको सङ्ख्या बढ्दै गए पनि कर्णालीमा आवश्यक सङ्ख्यामा मनोपरामर्शकर्ता छैनन् । प्रदेशका ७९ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा मात्रै मनोपरामर्शकर्ता उपलब्ध रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यसअनुसार ३८ स्थानीय तहमा मनोपरामर्शकर्ताको अभाव देखिएको छ ।
निर्देशनालयका अनुसार हुम्लाका सात स्थानीय तहमध्ये चार, डोल्पाका आठमध्ये तीन, मुगुका चारमध्ये एक, कालिकोटका नौमध्ये चार, जुम्लाका आठमध्ये तीन र रुकुमपश्चिमका ६ मध्ये चार स्थानीय तहमा मनोपरामर्शकर्ता छैनन् ।
यस्तै, जाजरकोटका सात स्थानीय तहमध्ये पाँच, दैलेखका ११ मध्ये सात, सल्यानका १० मध्ये सात र सुर्खेतका नौमध्ये चार स्थानीय तहमा पनि मनोपरामर्शकर्ताको अभाव रहेको छ ।
स्वास्थ्य सेवा निर्देशनालयकी मनोविद् लक्ष्मी तामाङका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी उपचार सेवा लिने बिरामीको सङ्ख्या सबैभन्दा कम डोल्पामा र सबैभन्दा बढी सुर्खेतमा रहेको छ । डोल्पामा आर्थिक वर्ष २०८२–०८३ मा ४५ जना नयाँ मानसिक स्वास्थ्यका बिरामी र ४५ जना फलोअपमा आएका गरी ९० जनाले उपचार सेवा लिएका छन् । सुर्खेतमा भने ५ हजार ९ सय ३५ जना नयाँ बिरामी र १३ हजार ८ सय ३२ जना फलोअपमा आएका छन् । जिल्लामा कुल १९ हजार ७ सय ६७ जनाले मानसिक स्वास्थ्यसम्बन्धी उपचार सेवा लिएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै, मुगुमा ६४ जना नयाँ र ५० जना फलोअपमा आएका गरी १ सय १४ जनाले उपचार सेवा लिएका छन् । हुम्लामा ८१ जना नयाँ र ४६ जना फलोअपका बिरामी गरी १ सय २७ जनाको उपचार गरिएको छ । जुम्लामा ४० जना नयाँ र ४२ जना फलोअपका बिरामी गरी ८२ जनाले सेवा लिएका छन् । कालिकोटमा ३ सय २२ जना नयाँ र २ सय ४३ जना फलोअपका बिरामी गरी ५ सय ६५ जनाले उपचार सेवा लिएका छन् । दैलेखमा ६ सय ६७ जना नयाँ र २ हजार १ सय ७२ जना फलोअपका बिरामी गरी २ हजार ८ सय ३९ जनाको उपचार गरिएको छ ।
जाजरकोटमा ६ सय ११ जना नयाँ र २ हजार ९ सय ५९ जना फलोअपका बिरामी गरी ३ हजार ५ सय ७० जनाले उपचार सेवा लिएका छन् । रुकुमपश्चिममा २ हजार ६ सय २२ जना नयाँ र ३ हजार ७ सय ३० जना फलोअपका बिरामी गरी कुल ६ हजार ३ सय ५२ जनाको उपचार गरिएको छ । सल्यानमा १ हजार ९७ जना नयाँ र २ हजार ६६ जना फलोअपका बिरामी गरी ३ हजार १ सय ६३ जनाले मानसिक स्वास्थ्यसम्बन्धी उपचार सेवा लिएको मनोविद् तामाङले बताइन् ।
‘मानसिक स्वास्थ्यको बारे खुलेर मनका कुरा गरौँ, सुनौँ र सहयोग गरौँ’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेश सरकारले साउन महिनाभर ‘मानसिक स्वास्थ्य सचेतना महिना–साउन २०८३’ अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत प्रदेशस्तरमा स्वास्थ्य तथा मानसिक स्वास्थ्यका सरोकारवालासँग बैठक, पैरवी तथा योजना तयारी गरिनेछ । यस्तै, रेडियो तथा एफएममार्फत सचेतनामूलक स्वास्थ्य सन्देश प्रसारण, ब्यानर प्रदर्शन तथा स्वास्थ्य शिक्षा र सूचना सामग्री उत्पादन गरी वितरण गर्ने योजना रहेको छ ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार प्रदेश तथा जिल्लास्तरमा पत्रकार तथा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिनेछ । ‘विभिन्न जिल्लाका केही विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिनेछन्,’ उनले भने, ‘सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा मानसिक स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ ।’




