पहिरोले ठप्प बनायो बेनी–जोमसोम सडक, एक्साभेटरसमेत पुरियो

म्याग्दीको कालीगण्डकी करिडोरअन्तर्गत पर्ने बेनी–जोमसोम सडकखण्डमा ठूलो पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।


रघुगङ्गा गाउँपालिका–२ बैसेरी क्षेत्रमा सोमबार दिउँसो सडकमाथिबाट पहिरो झरेपछि सडकमा सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।


प्रहरीका अनुसार पहिरो हटाउने कार्य भइरहेका बेला पुनः थप पहिरो खस्दा काममा प्रयोग गरिएको एक्साभेटरसमेत पुरिएको छ। निरन्तर पहिरो झरिरहेकाले सडक तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको छ भने पहिरो पन्छाउने काम जारी रहेको छ।


यसअघि नै सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिले बेनी–जोमसोम सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक लगाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको थियो।


मुक्तिनाथ दर्शनका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकले यही सडक प्रयोग गर्ने भएकाले सडक अवरुद्ध हुँदा सयौँ यात्रु प्रभावित भएका छन्। सम्बन्धित निकायले मौसम अनुकूल हुनासाथ सडक खुलाउने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस