जुम्लाको पातारासी गाउँपालिका–३ हुरी गाउँमा एक गर्भवती महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै शिशु जन्माएकी छन्। हुरी गाउँकी पूजा बुढा स्वास्थ्य चौकीतर्फ जाँदै गर्दा हुडिलाचौर क्षेत्रमा प्रसूति भएकी हुन्।
घटनापछि त्यहाँ रहेका स्थानीय महिलाले तत्काल सुत्केरी र नवजात शिशुको स्याहारसुसार गर्दै सुरक्षित रूपमा प्रसूति गराउन सहयोग गरेका थिए। स्थानीयवासीले आवश्यक प्राथमिक सहयोग उपलब्ध गराएपछि आमा र शिशुको अवस्था सामान्य रहेको जनाइएको छ।
यस घटनाले कर्णालीका दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सेवा अझै सहज रूपमा उपलब्ध हुन नसकेको यथार्थ उजागर गरेको छ। सडक पुगेका स्थानमा समेत समयमै एम्बुलेन्स, स्वास्थ्यकर्मी र आकस्मिक स्वास्थ्य सेवा नपुग्दा गर्भवती महिलाले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ।
प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार




