जुम्लाको तिला गाउँपालिकाले बालबालिकाको समग्र विकास, संरक्षण र अधिकार सुनिश्चित गर्ने उद्देश्यले त्रिवर्षीय बाल लगानी योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। गाउँपालिकाको सभाहलमा आयोजित गोष्ठीमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गोष्ठीमा गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा ले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ अनुसार तिला गाउँपालिकाले हालसम्म वडा नं. ६ र ८ लाई बालमैत्री वडा घोषणा गरिसकेको जानकारी दिइन्।
अब सम्पूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीस्वरूप त्रिवर्षीय बाल लगानी योजना निर्माण प्रक्रिया अघि बढाइएको उनले बताइन्।

उपाध्यक्ष बुढाले बालबालिकामा गरिने लगानी भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै, “एक वर्षका लागि बाली रोप्ने, दश वर्षका लागि रूख रोप्ने र सय वर्षका लागि बालबालिकामा लगानी गर्ने” भन्ने अवधारणालाई आत्मसात् गर्दै गाउँपालिकाले दीर्घकालीन सोचका साथ योजना तर्जुमा गर्न लागेको स्पष्ट पारिन्। बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा, सहभागिता तथा समग्र विकासलाई प्राथमिकतामा राखेर योजना तयार गरिने उनको भनाइ थियो।

गोष्ठीमा सहभागीहरूले स्थानीय आवश्यकता, बालबालिकाका समस्या तथा उपलब्ध स्रोत–साधनलाई समेटेर प्रभावकारी योजना बनाउन सुझाव दिएका थिए। आगामी तीन वर्षसम्म बालबालिकाको हितमा सञ्चालन गरिने कार्यक्रम, बजेट व्यवस्थापन तथा कार्यान्वयन रणनीतिलाई योजना मार्फत व्यवस्थित गरिने जनाइएको छ।

गोष्ठीको समापन गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर रावल ले नेपाल सरकारले सन् २०३० सम्म सबै स्थानीय तहलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएको स्मरण गराउँदै तिला गाउँपालिकाले पनि सोही लक्ष्य पूरा गर्ने दिशामा काम गरिरहेको बताए।

उनले बाल लगानी योजनाले बालविवाह, बालश्रम र बालहिंसा न्यूनीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न तथा लागत व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। योजना कार्यान्वयनसँगै बालअधिकार संरक्षण, गुणस्तरीय सेवा प्रवाह र बालमैत्री वातावरण निर्माणमा गाउँपालिकाले थप प्रभावकारी रूपमा काम गर्न सक्ने उनले बताए।
तिला गाउँपालिकाले वर्ल्ड भिजन इन्टरनेसनल र किर्डाक जुम्ला को प्राविधिक सहयोगमा त्रिवर्षीय बाल लगानी योजना तयार गर्न लागेको हो। गोष्ठीको सहजीकरण मन्त्र कन्सल्टेन्सी का स्थानीय योजनाविद् सालिकराम कालाथोकी ले गरेका थिए।

गाउँपालिकाले बालबालिकामा केन्द्रित दीर्घकालीन नीति तथा कार्यक्रमलाई संस्थागत गर्दै आगामी दिनमा बालमैत्री तिला गाउँपालिका घोषणा गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ।




