जुम्ला । सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेशका २० वटै जिल्लामा शिक्षा क्षेत्रको विकासका लागि शैक्षिक पूर्वाधार निर्माणमा समेत लगानी गर्दै आएको छ । मन्त्रालय मार्फत जिल्लातहमा सामाजिक विकास कार्यालयहरुले सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार सुधारका लागि भौतिक संरचना निर्माण गर्दै आएका छन् ।
जिल्लाबाट माग भई पठाइएका योजनाहरु मध्यबाट प्रथामिकीकरण गरेर विद्यालय भवनदेखी, घेराबार, खेलमैदान लगायतका पूर्वाधार निर्माण हुदैँ आएका छन् । जस अन्तरर्गत चालु आर्थिक वर्षमा सामाजिक विकास कार्यालय जुम्लाले २३ वटा विद्यालयमा करोडौका शैक्षिक पूर्वाधार निर्माण गर्ने भएको छ ।
जिल्लाका आठ पालिकाका २३ वटा विद्यालय झण्डै चार करोड ८० लाख लगानीमा पक्की भवन, पक्की घेराबार, पर्खाल,खेल मैदान लगायतका खेल तथा शैक्षिक पूर्वाधार निर्माण गरिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार छनोट भएका २३ वटा विद्यालय योजना निर्माणको सम्झौताका लागि विद्यालयलाई अनुरोध गरिएको छ ।
चालु आवमा उपभोक्ता समितिबाट चार करोड ८० लाख र ठेक्का मार्फत ६ करोडका गरी झण्डै ११ करोडका शैक्षिक पूर्वाधार जिल्लाभरी निर्माढ गरिने सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोप बहादुर बुढाले बताए ।
साउनमै सम्झौता गरेर योजना निर्माण प्रक्रियालाई अघि बढाउने तयारी भएको कार्यालय प्रमुख बुढाले जानकारी दिए । २३ वटा विद्यालय भन्दा २० वटा विद्यालयमा २० लाख लागतका भवन, घेराबार, पर्खाल तथा खेल मैदान निर्माण हुने छन् । भने, तीन वटा विद्यालयमा एकमा३० लाख र दुई वटा विद्यालयमा २५ लाखका योजना स्वीकृती भई आएका छन् ।
‘फिल्डमा पुगेर योजनाको सर्वेसंगै स्थानीयतहसंग समन्वय सहकार्य समेत गरिसकेका छौ,’प्रमुख बुढाले भने,‘फिल्डमै गई सर्वेपछि सम्झौताका लागि तीस दिने सूचना आह्वान गरेका छौ । सम्बन्धीत विद्यालयलनै योजना बनाउने प्रावधान छ । सोहीनुसार विद्यालयको निर्णय, पालिकाको सिफारिस, लालपुर्जा, खाता नम्बर र प्यान नम्बर सहित आउन अनुरोध गरेका छौ । यस वर्ष समयमै भौतिक विकासका काम सकाउने लक्ष्य राखेका छौ।’
सामुदायिक विद्यालय प्रति घट्दो आर्कषणका बीच पनि कर्णाली प्रदेश सरकारले शैक्षिक तथा खेल पूर्वाधार निर्माणका लागि उल्लेखीय रुपमा लगानी गर्दै आएको छ । योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धीत विद्यालय र पालिकासंग समन्वय मजबुद बनाइएको छ । झण्डै ४ करोड ७५ लाख लगानीमा निर्माण हुने सबै पूर्वाधारको दिगो व्यवस्थापन तथा संचालनमा समेत जोड दिइएको छ ।
सामाजिक विकास कार्यालय जुम्लाले सामुदायिक विद्यालय सुधार तथा शिक्षामा गुणस्तर ल्याउन सुविधायुक्त शैक्षिक पूर्वाधार निर्माणदेखी शैक्षिक बहस, प्रतिभा पहिचान लगायतका कार्यक्रममा समेत जोड दिदै आएको छ । भने शिक्षकहरुको पेशागत दक्षता बृद्धिका कार्यक्रमा गति दिइएको कार्यालय प्रमुख टोप बहादुर उल्लेख गरे ।




