छात्रवृत्तिले उच्चशिक्षा पढ्ने विद्यार्थीलाई सहज

हिमा गाउँपालिका– ३, मोफ्ला गाउँका २९ वर्षीय परिलाल विक जुम्ला बहुमुखी क्याम्पस जुम्लामा मास्टर्स डिग्री दोस्रो वर्षमा अध्ययनरत छन् । उनले जनसंख्या विषय लिएर अध्ययन गर्दै आएका छन् । उनी विपन्न घरपरिवारका व्यक्ति हुन् । उनको घरको मुख्य पेसा भनेकै कृषि हो । 

कृषि पेसाबाटै घरपरिवार चलाउँदै आएका परिलालले हरेक वर्ष प्रदान गर्ने दलित उच्चशिक्षा छात्रवृत्ति पाए । त्यो छात्रवृत्तिले हामीजस्ता विपन्न विद्यार्थीलाई राहत पुगेको उनले बताए । उनले भने, ‘एमएड अध्ययन गर्न ४ वर्ष लाग्छ । भर्नाका लागि हरेक वर्ष ३० हजार रुपैयाँ शुल्क लाग्छ । पहिलो वर्ष भर्नाको समयमा सामाजिक विकास कार्यालय जुम्लामार्फत २४ हजार दलित उच्चशिक्षा छात्रवृत्ति प्राप्त गरेको थिएँ । त्यतिबेला मेरो ६ हजार रुपैयाँ मात्रै खर्च भएको थियो । यसले केही भए पनि सहज भयो ।’

एमएड अध्ययन गर्न ४ वर्षे कोर्स पूरा गर्न भर्ना शुल्क मात्रै १ लाख २० हजार रुपैयाँ खर्च हुन्छ । कोर्स पूरा हुञ्जेलसम्म छात्रवृत्ति पाउने सुविधा भएको भए निकै सहज हुने उनले बताए । 

तिला गाउँपालिका– ३, कुडारी गाउँकी विष्णु शाही शारीरिक अपांगता भएकी व्यक्ति हुन् । उनी अहिले जुम्ला बहुमुखी क्याम्पस जुम्लामा नेपाली विषय लिएर एमएड चौथो वर्षमा अध्ययनरत छिन् । सामान्य पेसा व्यवसाय गर्ने घरपरिवारकी शाहीले सामाजिक विकास कार्यालय जुम्लाबाट २४ हजार रुपैयाँ अपांगता उच्चशिक्षा छात्रवृत्ति पाइन् । 

त्यो छात्रवृत्तिले क्याम्पसमा भर्ना गर्न सहज भएको उनले बताइन् । उनले भनिन्, ‘भर्ना शुल्क पहिलो वर्षमा ३० हजार रुपैयाँ खर्च लाग्छ । चौथो वर्षसम्म भर्ना शुल्क मात्रै ३० हजारका दरले १ लाख २० हजार रुपैयाँ खर्च लाग्छ । २४ हजार रुपैयाँ मात्रै भए पनि छात्रवृत्ति पाएपछि भर्ना गर्न सहज भएको थियो । क्याम्पसमा अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत भर्ना शुल्क छुटको माग गरे पनि ५ हजार मात्रै छुट पाएका थियौँ । 

उनीहरू जस्तै प्राविधिक छोरीबुहारी छात्रवृत्ति ३ वर्षमा ७२ जनाले पाए । प्रतिव्यक्तिलाई ५० हजारका दरले ३६ लाख रुपैयाँ प्राविधिक छोरीबुहारी छात्रवृत्ति वितरण गरिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले बताए । 

यस्तै, दलित उच्चशिक्षा छात्रवृत्तिअन्तर्गत ३ वर्षमा २३ जनाले प्रतिव्यक्ति २४ हजारका दरले ५ लाख ५२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको हो । अपांगता उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत १७ जनाले प्रतिव्यक्ति २४ हजार रुपैयाँका दरले ४ लाख ८ हजार रुपैयाँ विद्यार्थीकै बैंक खातामा जम्मा गरिएको प्रमुख बुढाले बताए । 

प्राविधिक छोरीबुहारी छात्रवृत्ति कार्यक्रम आर्थिक वर्ष २०८३/०८४ मा १० जना, दलित उच्चशिक्षा छात्रवृत्ति ५ जना, अपांगता उच्च शिक्षा छात्रवृत्ति ५ जनाका लागि कोटा तोकी आएको छ । अब चालु आर्थिक वर्षमा छिट्टै सूचना जारी गरिने सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ । 

 आर्थिक वर्ष  छोरीबुहारी छात्रवृत्ति अपांगता उच्चशिक्षा दलित उच्चशिक्षा
 २०८२/०८३ २० जना ५ जना ५ जना
 २०८१/०८२ ३० जना ८ जना  ८ जना
 २०८०/०८१ २२ जना ४ जना १० जना
 जम्मा  ७२ जना १७ जना २३ जना

प्राविधिक छोरीबुहारी छात्रवृत्ति कार्यक्रम आर्थिक वर्ष २०८२/०८३ मा २० जना, दलित उच्चशिक्षा छात्रवृत्ति ५ जना, अपांगता उच्च शिक्षा छात्रवृत्ति ५ जनाले प्राप्त गरेका हुन् । 

प्राविधिक छोरीबुहारी छात्रवृत्ति कार्यक्रम आर्थिक वर्ष २०८१/०८२ मा ३० जना, दलित उच्चशिक्षा छात्रवृत्ति ८ जना, अपांगता उच्च शिक्षा छात्रवृत्ति ८ जनाले प्राप्त गरेका हुन् । 

प्राविधिक छोरीबुहारी छात्रवृत्ति कार्यक्रम आर्थिक वर्ष २०८०/०८१ मा २२ जना, दलित उच्चशिक्षा छात्रवृत्ति १० जना, अपांगता उच्च शिक्षा छात्रवृत्ति ४ जनाले प्राप्त गरेका हुन् ।

छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्ति प्रदान गरिएको सामाजिक विकास कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस