तातोपानीमा राष्ट्रिय बाल दिवसका अवसरमा बालकेन्द्रित कार्यक्रम सम्पन्न

प्रथम बालिका सम्मेलनबाट २१ बुँदे घोषणा–पत्र जारी, उपाध्यक्ष बालिका फुटबल, चित्रकला र निबन्ध प्रतियोगिता सम्पन्न

जुम्ला । राष्ट्रिय बाल दिवसको अवसरमा तातोपानी गाउँपालिका, जुम्लामा बालबालिकाको अधिकार, सहभागिता, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा केन्द्रित विविध बालकेन्द्रित कार्यक्रमहरू सम्पन्न भएका छन्।


बालिकाहरूको अर्थपूर्ण सहभागिता तथा नेतृत्व विकासका लागि आयोजित तातोपानी गाउँपालिकाको प्रथम बालिका सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट बालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, संरक्षण, सहभागिता, नेतृत्व विकास तथा समान अवसरसँग सम्बन्धित २१ बुँदे घोषणा–पत्र जारी गरिएको छ।


त्यसैगरी, बालिकाहरूलाई खेलकुदका माध्यमबाट आत्मविश्वास, नेतृत्व क्षमता, अनुशासन र टीम भावना विकास गराउने तथा स्थानीय स्तरमा रहेका बालिका फुटबल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले २०८३ साल भदौ २७ र २८ गते प्रथम उपाध्यक्ष बालिका फुटबल कप प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयमध्ये ६ वटा विद्यालयको सहभागिता रहेको थियो।


प्रतियोगितामा श्री दुर्गा माध्यमिक विद्यालय, लामा प्रथम हुँदै नगद रु. ४० हजार, शिल्ड तथा मेडल प्राप्त गर्न सफल भएको छ। श्री नेत्रज्योति माध्यमिक विद्यालय, हाकु ठाटा–४ द्वितीय हुँदै नगद रु. २० हजार, शिल्ड तथा मेडल प्राप्त गरेको छ भने श्री गणेश माध्यमिक विद्यालय तृतीय हुँदै नगद रु. १५ हजार तथा मेडल प्राप्त गरेको छ।


प्रतियोगिताको मुख्य सन्देशका रूपमा “एक गोल, बालविवाहविरुद्धको गोल” भन्ने अभियानसमेत अघि सारिएको थियो। खेलकुदमार्फत बालविवाह, बालिकामाथि हुने विभेद तथा अन्य सामाजिक कुरीतिविरुद्ध सचेतना फैलाउने प्रयास गरिएको आयोजकले जनाएको छ।


यसैगरी राष्ट्रिय बाल दिवसकै अवसरमा चित्रकला प्रतियोगिता पनि सम्पन्न भएको छ। प्रतियोगितामा श्री हिमशिखर माध्यमिक विद्यालय प्रथम हुँदै रु. ५ हजार, श्री दुर्गा माध्यमिक विद्यालय द्वितीय हुँदै रु. ४ हजार र श्री नेत्रज्योति माध्यमिक विद्यालय तृतीय हुँदै रु. ३ हजार प्राप्त गर्न सफल भएका छन्। श्री दुर्गा माध्यमिक विद्यालयकी मधु सान्त्वना भएकी छन्।


माध्यमिक तहस्तरीय निबन्ध प्रतियोगिता समेत सम्पन्न भएको छ। गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा “जलवायु परिवर्तन र बाल अधिकार : सुरक्षित भविष्यका लागि हाम्रो भूमिका” विषयमा निबन्ध लेखन गराइएको थियो।


निबन्ध प्रतियोगितामा श्री दुर्गा माध्यमिक विद्यालय, लामाका देवराज कामी प्रथम र सोही विद्यालयकी अनुराधा चाैलागाईं द्वितीय भएकी छन्। त्यसैगरी श्री नेत्रज्योति माध्यमिक विद्यालयकी स्वीकृति उपाध्याय तृतीय भएकी छन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु. ३ हजार, रु. २ हजार, रु. १ हजार ५ सय र रु. १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।


कार्यक्रमको अध्यक्षता तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले गर्नुभएको थियो। कार्यक्रममा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका निवर्तमान मन्त्री माननीय माधव प्रसाद उपाध्याय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. गणेश रोकाया तथा किर्डाक नेपालका परियोजना व्यवस्थापन प्रमुख रामबहादुर रावत विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।


कार्यक्रममा बोल्दै वक्ताहरूले बालबालिकालाई केवल कार्यक्रमका सहभागीका रूपमा नभई नीति निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्नेमा जोड दिएका थिए। विशेषगरी बालिकाहरूलाई शिक्षा, खेलकुद, नेतृत्व, सामाजिक तथा सार्वजनिक क्षेत्रमा समान अवसर प्रदान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको थियो।


तातोपानी गाउँपालिकामा सञ्चालन गरिएका यी कार्यक्रमले बालबालिकाको प्रतिभा पहिचान, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, खेलकुदमा सहभागिता तथा बाल अधिकारप्रतिको सचेतना विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।


“बालापनको रक्षा, भविष्यको सुरक्षा” भन्ने राष्ट्रिय बाल दिवसको मूल भावनालाई आत्मसात् गर्दै बालबालिकाको अधिकार संरक्षण, विकास, सहभागिता र सम्मानलाई स्थानीय तहबाट थप प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्नेमा समेत जोड दिइएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस