रसुवा बाढीमा सम्पर्क विहिन भएका परिवालाई राहत प्रदान

जुम्ला । रसुवा भिषण बाढीमा परि सम्पर्क बिहिन भएका व्यक्तिका आफन्तलाई पहिलो चरणको आर्थिक सहायता उपलब्ध गराईएको छ । पातारासी गाउँपालिकाका सम्पर्क बिहिन भएका ४९ जनाका परिवारलाई गाउँपालिकाले आर्थिक राहत उपलब्ध गराएको हो ।

रसुवा बिनासकारी बाढी गएको २० दिन बितिसक्दा पनि शास र लासको कुनै टुंगो लागेको छैन् । हाँकुजेसी २१६ नम्बर टनेलमा जुम्ला पातारासीका ४९ जना थुनिएका थिए । तर हालसम्म जिवित छन् वा मरिसकेका छन् भन्ने कुनै टुंगो छैन् । तर सरकारले हाँकुजेसी २१६ नम्बर टनेलमा खोज उद्वार कार्य निकै ढिला सुस्ती भएका गुनासो गरेका छन् ।

जुम्लाका कुल ९३ जना सम्पर्क विहिन भएकोमा ३० जना सम्पर्कमा आएका छन् । ६३ जना अझै सम्पर्क विहिन छन् । जसमा पातारासीका मात्रै ४९ जना सम्पर्क विहिन रहेका छन् । सम्पर्क विहिन रहेका सबै १५ देखि ४० वर्षमुनिका यूवा मात्रै रहेका छन् ।

एकै पालिकाका ४९ जना यूवा बेपत्ता भएपछि परिवार मात्र चिन्तामा छैनन् । समग्र पालिका शोकमा छ । परिवारमा कमाउने जनशक्तिनै सम्पर्क विहिन भएपछि जिल्ला प्रशासनको अगुवामा पातारासी गाउँपालिकाले पहिलो चरणको राहत उपलब्ध गराएको छ ।

जसका प्रति परिवारलाइ ४१ हजारका दरले ४९ जना परिवारलाई आर्थिक राहत उपलब्ध गराईएको पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । उनका अनुसार पालिकाको कार्यविधिनुसार तत्काल ३० हजार र सहयोगी दाताले दिएको ११ हजार थपेर ४१ हजारका दरले नगद र एक बोरा चामल समेत मंगलबार वितरण गरिएको हो ।

स्थानीय जंगविर बोहोराको अगुवाईमा संकलित ५ लाख ७७ हजार रकम सहित पालिकाको १४ लाख ७७ गरी कुल २० लाख ४७ हजार राहत उपलब्ध गराईएको पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिईन् ।
साथै जुगाड खोला अभियान अन्तरर्गत अभियान्ता उपेन्द्र बुढ्थापाको अगुवाईमा संकलन गरिएको राहत सामाग्री पनि मंगलबारनै वितरण गरिएको छ ।

जिल्ला समन्वय समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय, तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँई, प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई, सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढा लगायतको सहभागितामा बाढी पिडितलाई आर्थिक राहत प्रदान गरिएको छ । समन्वय प्रमुख गौरीनन्द आर्चायले रसुवा बाढीबाट जुम्लाले ठुलो क्षति व्यहोर्नु परेको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले बाढिबाट सम्पर्क विहिन भएका व्यक्तिका परिवारलाई पुर्नस्थापना गर्न राज्य लागि रहेको बताए । पहिलो चरणमा स्थानीय तह तथा दातृ निकायले आर्थिक सहायता उपलब्ध गराउन सुरु गरिएको उनको भनाई छ ।

संघ प्रदेशबाट प्राप्त हुने राहत पालिका मार्फत एकद्वार प्रणालीबाट वितरण गरिने उल्लेख गरे । साथै पातारासी ४९ जनाकै पारिवारिक स्थितीबारे एकिन तथ्यांक संकलन गरिने भएको छ । किर्डाक नेपालको सहकार्यमा घरधुरी सर्वेक्षण गरी पारिवारिक अबस्था एकिन आएपछि राहत पुर्नस्थापना, तथा मनोसामाजिक परामर्श समेत प्रदान गरिने छ ।

डिएनए परिक्षण गरी पठाईदै
रसुवा बाढी गएको २० दिन बितिसक्दा पनि पातारासी ४९ जना नागरिकको साश र लासको पत्ता नलागेपछि आफन्तको डिएनए परिक्षण गरी पठाईएको छ । हाँकुजेसी २१६ नम्बर सुरुङको खोज उद्वारको नतिजा पनि सन्तोष जनक नभएपछि भेटिएका शवहरुको पहिचान सहज गर्न जुम्लाबाट डिएनए परिक्षण गरेर पठाईएको प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले बताए ।


मंगलबार प्रशासनको अगुवाईमा जनस्वास्थ्य कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी तथा मनोपरामर्शदाता सहित पातारासी पुगेर डिएनए परिक्षण संगै मनोपरामर्श पनि प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस