कर्णालीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि मन्त्री मल्ललाई डा. नगरकोटी र डा. भामको विशेष प्रस्ताव: मन्त्री सकारात्मक

कर्णाली प्रदेशलाई राष्ट्रिय स्वास्थ्य हब (Hub) का रूपमा विकास गर्ने उद्देश्यका साथ सामाजिक विकास मन्त्रालयमा एक विशेष प्रस्ताव पेस गरिएको छ। मुगु जिल्ला अस्पतालमा कार्यरत डाक्टर निर्मल नगरकोटी र डाक्टर अर्जुन भामले सामाजिक विकास मन्त्री माननीय जीत बहादुर मल्ल समक्ष ‘कर्णाली प्रदेश स्वास्थ्य क्षेत्र सुदृढीकरण रुपान्तरण’ सम्बन्धी विशेष प्रस्ताव पेश गरेका हुन्।

प्रस्ताव बुझ्दै माननीय मन्त्री मल्लले स्वास्थ्य क्षेत्रको जगैदेखि रूपान्तरण गर्ने यस योजनाप्रति आफू पूर्ण रूपमा सकारात्मक रहेको र यसलाई कार्यान्वयनमा लैजान आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“कर्णालीको स्वास्थ्य राम्रो नभएसम्म नेपालको स्वास्थ्य प्रणाली पूर्ण रूपमा राम्रो हुन सक्दैन” भन्ने मूल नाराका साथ पेस गरिएको उक्त प्रस्तावमा दुर्गम तथा माथिल्लो कर्णालीमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानको विकासका लागि ५ वटा रणनीतिक बुँदाहरू अघि सारिएको छ:

१. माथिल्लो कर्णालीमा ५० शय्याको ‘रुरल हेल्थ हस्पिटल’: कर्णाली स्वास्थ्य नियमावली २०८० को व्यवस्था अनुसार माथिल्लो कर्णालीका जिल्ला अस्पतालहरूलाई क्रमशः ५० शय्याको ‘रुरल हेल्थ हस्पिटल’ का रूपमा स्तरोन्नति गर्न माग गरिएको छ। यसबाट आवश्यक पूर्वाधार, उपकरण तथा विशेषज्ञ चिकित्सकसहित आकस्मिक, प्रसूति, बालरोग र शल्यक्रिया सेवा विस्तार गरी नागरिकलाई सामान्य उपचारका लागि पनि सुर्खेत वा बाहिरी सहर जानुपर्ने बाध्यता अन्त्य हुने लक्ष्य राखिएको छ।

२. नियमित विशेषज्ञ स्वास्थ्य सेवा अभियान (अपर कर्णाली स्पेसलिस्ट आउटरिच प्रोग्राम): दुर्गममा विशेषज्ञ चिकित्सकको स्थायी उपलब्धता चुनौतीपूर्ण रहेकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालसँगको समन्वयमा महिनाको कम्तीमा एकपटक विशेषज्ञ टोली पठाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। यस अभियानमा बालरोग, स्त्री तथा प्रसूति, मेडिसिन, एनेस्थेसिया, अर्थोपेडिक र रेडियोलोजिस्ट लगायतका विशेषज्ञहरू सहभागी हुनेछन्।

३. प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच रणनीतिक सहकार्य: दुई ठूला स्वास्थ्य संस्थाहरूलाई प्रतिस्पर्धी नभई एकअर्काको पूरकका रूपमा विकास गर्न औपचारिक द्विपक्षीय सम्झौताको प्रस्ताव गरिएको छ। यसअन्तर्गत स्थायी विशेषज्ञ सेवा आदान-प्रदान, संयुक्त क्लिनिकल सेवा सञ्चालन, मेडिकल विद्यार्थीहरूको इन्टर्नसिप तथा रेजिडेन्सी तालिम विस्तार, प्राध्यापकहरूको प्राज्ञिक आदान-प्रदान र दुर्गमका अस्पतालहरूलाई टिचिङ/ट्रेनिङ नेटवर्कमा जोड्ने योजना समाविष्ट छ।

४. स्वास्थ्यकर्मीको वृत्ति विकास, पदोन्नति र अध्ययन बिदाको सुनिश्चितता: विगत दुई वर्षदेखि रोकिएको स्वास्थ्यकर्मीहरूको पदोन्नति प्रक्रिया यथाशीघ्र अगाडि बढाउन मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। दुर्गममा कार्यरत जनशक्तिलाई टिकाइराख्न कम्तीमा २ वर्ष अति दुर्गम वा १ वर्ष दुर्गम क्षेत्रमा सेवा गरेका स्वास्थ्यकर्मीलाई नियमानुसार तलबी अध्ययन बिदा (Study Leave) को व्यवस्था मिलाउन आग्रह गरिएको छ। यसले “दुर्गममा सेवा गरेपछि अवसर गुम्ने होइन, थप अवसर प्राप्त हुने” प्रणालीको विकास भई मुगु लगायतका जिल्लालाई शिक्षा, स्वास्थ्य र पर्यटनको संयुक्त केन्द्र बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

५. जुम्लामा ‘कर्णाली हेल्थ रिसर्च सेन्टर’ स्थापना: कर्णालीको विशिष्ट भौगोलिक र सामाजिक परिवेश अनुरूपका स्वास्थ्य समस्याहरूमा केन्द्रित भई अनुसन्धान गर्न जुम्लामा ‘कर्णाली हेल्थ रिसर्च सेन्टर’ स्थापना गर्न विशेष जोड दिइएको छ। यस केन्द्रले कर्णालीमा मातृ तथा बाल स्वास्थ्य, कुपोषण, संक्रामक तथा गैर-संक्रामक रोग र दुर्गममा स्वास्थ्य सेवाको पहुँचसम्बन्धी अध्ययन-अनुसन्धान गर्नेछ।

भौगोलिक रूपमा विकट र स्वास्थ्य सूचकांकमा पछि परेको कर्णाली प्रदेशको स्वास्थ्य प्रणालीलाई जगैदेखि रूपान्तरण गर्न यो विशेष प्रस्ताव कोशेढुङ्गा सावित हुने दाबी प्रस्तावक डाक्टरद्वय नगरकोटी र भामले गरेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस