जुम्ला । सामाजिक रुपान्तरणका लागि स्थानीय यूवाहरु सक्रिय हुन थालेका छन् । सामुदायिक यूवा अभियानकर्मी संञ्जाल मार्फत यूवाहरु सामाजिक रुपान्तरणका लागि सक्रिय हुन थालेका हुन् ।
समाजमा रहेका विकृति विरुद्ध शसक्त आवाज उठाउने, राम्रा पक्षको संस्थागत विकास र संरक्षण गर्ने, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शीता सवालमा सरोकारवालाई खबरदारी गर्ने लगायतका पक्षमा संजालमा आबद्ध यूवाहरु कार्ययोजनानै बनाएर गाउँ गाउँमा परिचालन हुने भएका छन् ।
सामुदायिक यूवा अभियानकर्मी संञ्जालमा जिल्लाका आठै स्थानीयतहका यूवाहरु आबद्ध छन् । ती यूवाहरुलाई सामाजिक मुद्धामा कसरी आवाज उठाउने, विपद व्यवस्थापनदेखी राहत उद्दार, पुर्नस्थापना र विकास निर्माण लगायतका यूवाहरु निन्तर वकालत तथा पैरवी गर्ने छन् ।
संजालमा आबद्ध यूवाहरुलाई सामाजिक मुद्धामा शसक्त रुपमा आवाज उठाउन सक्षम बनाउने उदेश्यले प्रभावकारी संचार तथा नेतृत्व विकास तालिम दिइएको छ । तीन दिनसम्म दिइएको तालिममा यूवाहरुलाई बोल्ने कलादेखी, विषयवस्तुको उठान, छलफल पैरवी गर्ने सिपका साथै नेतृत्व विकास बारे सिकाइएको छ ।

तालिमको समापनमा अनुभव सुनाउदै सामुदायिक यूवा अभियानकर्मी संञ्जालका अध्यक्ष विवेक शाहीले यूवाको जोश जाँगर र क्षामतालाई सही मार्गमा लगाएर सामाजिक रुपान्तरणमा लाग्न तालिमले प्रेरणा मिलेको बताए ।
संजालकी उपाध्यक्ष सुस्मा हमालले सामाजिक रुपान्तरणको सवाल सोचेजस्तो सहज नभएकाले सबै पक्षसंगको समन्वय सहकार्य गर्नुपर्ने बताईन् । तालिमले यूवाहरुलाई धर्य हुन, जिज्ञासु हुन, अभिव्यक्तिमा तथ्य र सत्यता हुनु पर्ने, पूर्वाग्रह रहित खबरदारी हुनु पर्ने जस्ता कुराको ज्ञान प्राप्त भएको उल्लेख गरिन् ।

जिल्ला समन्वय अधिकारी रोम महतले यूवाको जिम्मेवारी दाहित्व बोध गर्दै सामाजिक रुपान्तरणमा जुट्नु पर्ने बताए । पारिवारिक र सामाजिक रुपान्तरणमा हामी एकमत भएर अघि बढ्नु पर्ने जोड दिए । उनले भने,‘संचार प्रभावकारी गर्न हामी सामाजिक संजालको सही सदुपयोग, सामाजिक हितका सवालहरुको वकालत, सामाजिक विभेद, विकृती विरुद्व शसक्त रुपमा आवाज उठाउन जरुरी छ ।’
राज्यको सेवा प्रवाह, विकास निर्माण, सुशासन, पार्दशिताका सवालमा पनि तथ्यमा आधारित आवाज उठाउनु आबश्यक देखिएको छ । सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढा भन्छन,‘देशलाई वर्तमान अबस्थामा कुशल नेतृत्वको अभाव छ । त्यसको नेतृत्व यूवाले गर्नुपर्छ । सामाजिक विकृती विरुद्व अब यूवा जाग्नु पर्छ । अझै यूवाको शसक्तिकरणमा सामाजिक विकास कार्यालयले किर्डाक संग समन्वय गरेर धेरै काम गर्ने सोचमा छ ।’
सामाजिक रुपान्तरण, यूवा शसक्तिकरण, उद्यमशीलता विकासका क्षेत्रमा किर्डाक नेपालले गरेका काम उल्लेखीय रहेको समेत बताए । स्रोत साधनको सहि परिचालन गर्न कुशल नेतृत्ल चाहिन्छ । पढेर जागिर खाने हैन हरेक क्षेत्रमा सफल बन्न सकिने सम्भावना रहेका यूवाहरु सक्षम बन्न जोड दिए ।

वल्र्डभिजन ईन्टरनेश्नल नेपालका जिल्ला संयोजक भेष बहादुर रावलले समाज रुपान्तरणको निम्ती यो संजालले उल्लेखीय काम गर्ने विश्वास व्यक्त गरे । जुम्लाका यूवा समाज बदल्न, समाजका बेथिती विरुद्ध बोल्न तयार भईसकेका छन् भन्ने सन्देश सामुदायिक यूवा अभियानकर्मी संजालले दिएको उनको भनाई छ ।
संजालले समाजका राम्रा कुराको संस्थागत र संरक्षण गर्ने, नराम्रालाई निरुत्साहित गर्न अग्रसर हुनुपर्नेमा जोड दिए ।
किर्डाक नेपालका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले तालिममा सिकेका कुरा व्यवहारमा उतारेर यूवाहरु सामाजिक परिवर्तनका संवाहक बन्ने विश्वास व्यक्त गरे ।




