असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुन सक्ने

जुम्ला । असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ। मौसमविद विनोद पोखरेलले मौसम पूर्वानुमानका विभिन्न मोडलहरू अध्ययन पश्चात पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्मै भारी आगामी बिहीबारदेखि सोमबारसम्म भारी वर्षा हुने प्रक्षेपण गरेका हुन्। 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन सार्वजनिक गर्ने तयारी गरेको छ। मौसमविद पोखरेलले बंगालको खाडीमा न्यूनचापीय प्रणाली बनिरहेको र त्यो नेपालसम्म आइपुगेर भारी वर्षा गराउने सक्ने मौसम पूर्वानुमानका विभिन्न मोडलहरूले देखाएको बताएका छन्। तीमध्ये शुक्रबार र शनिबार (९ र १०) गते ठूलो पानी पर्ने उनले बताएका छन्।

‘शुक्रबार र शनिबार चाहिँ अलि धेरै नै जोखिम देखिन्छ,’ उनले भने। अमेरिकन मोडलले बिहीबारदेखि सोमबारसम्म धेरै लामो समयसम्म पानी पर्न सक्ने देखाएको छ।   युरोपेली मोडलले भने पश्चिम नेपालमा भारी वर्षाको सम्भावना प्रबल देखाएको उनले बताएका छन्।  

‘त्यसकारण पश्चिम नेपालमा भारी वर्षाको सम्भावना प्रबल रहेको छ भन्ने देखाएको छ। बागमती, मधेशबाट सुरू भएर पश्चिम नेपालमा धेरै वर्षा हुने देखाउँछ,’ उनले भिडिओ सन्देश जारी गरी भनेका छन्। धेरैवटा मोडलले ५०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना देखाएको उनले बताए।   ‘तर त्यो एकैदिनमा पर्ने होइन। ४/५ दिनमा हो।  तर ५०० मिलिमिटर पर्छ भन्ने प्रक्षेपण गर्छ भने एक दम भारी वर्षा हुने देखिन्छ,’ उनले भने।  

अमेरिको मोडलले पूर्व र पश्चिम नै देखाउँछ। युरोपेली मोडलले पश्चिम क्षेत्रको आधा नेपालमा आइकन भन्ने अर्को मोडलले पूर्वी नेपाल र सुदूरपश्चिममा मात्रै कम, अरूमा धेरै र एआई मोडलको युरोपेली मोडलले नेपालभरि नै पानी पर्ने तर पश्चिममा भारी वर्षा हुने देखाएको उनले बताए।

तीन वटै मोडलले लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना देखाएको छ।   ‘यही ठाउँमा पानी पर्छ भन्न सकिँदैन। त्यो बेला थोरै मात्र परिवर्तन हुँदा पनि वर्षाको मात्रा घटबढ हुन सक्छ। सचेत हुन जरूरी छ,’ उनले भने। यो प्रणालीले चक्रवात बन्न सक्ने सम्भावना न्यून रहेको उनले बताए।

मनसुनको उत्तरार्द्धमा भारी वर्षा हुँदा जोखिम बढी हुने उनले बताएका छन्। पहिल्यै भिजेको जमिनमा लामो समय वर्षा हुँदा त्यसले बाढी पहिरो निम्त्याउन मद्दत गर्छ। अर्को जोखिम प्रणाली सुस्त गतिमा अगाडि बढ्यो भने पनि लामो समयसम्म पानी पर्दा पनि बाढी पहिरो निम्त्याउन सक्ने उनी बताउँछन्।    

त्यसकारण किसानले बाली जोगाउने पूर्वतयारी र सरकारले जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी सवारी साधन सञ्चालन र सुरक्षाको कदमबारे पूर्वतयारी गर्नुपर्ने उनी बताउँछन्। महाशाखाका मौसमविद रोजन लामिछानेले पनि असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना रहेको बताए। 

बंगालको खाडी र अण्डमान आसपास विकास भइरहेको प्रणाली क्रमशः उत्तर–पश्चिमतर्फ सर्दै जाँदा त्यसको प्रभाव नेपालमा पर्न सक्ने देखिएको हो। अहिले प्रणाली विकासकै क्रममा रहेकाले यसको प्रभाव कति र कुन क्षेत्रमा बढी पर्छ भन्नेबारे निरन्तर अनुगमन भइरहेको उनले बताए।

‘फोरकास्ट सात दिनसम्म हेर्दाखेरि यसको इम्प्याक्ट नेपालमा पर्न सक्ने सम्भावना देखिन्छ। तर कति पर्छ, के पर्छ र कसरी डेभलप हुँदै आउँछ भन्नेचाहिँ हामी मोनिटरिङ नै गरिरहेका छौँ,’ लामिछानेले भने। उनका अनुसार बंगालको खाडीमा विकास हुने प्रणाली चक्रवातका रूपमा विकसित हुन सक्ने अनुमान छ।

चक्रवात ओडिसा र आसपासका क्षेत्रमा पुगेमा त्यसको क्षेत्र ठूलो हुने भएकाले त्यसको बाहिरी प्रभाव नेपालसम्म पनि पर्न सक्ने उनले बताए। ‘कति पानी पर्छ भन्ने चाहिँ अहिले भनिहाल्ने अवस्था छैन,’ उनले भने, ‘दिन नजिकिँदै जाँदाखेरि त्यसको पूर्वानुमान पनि दिँदै जानेछौँ।’ 

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस