जुम्लाको हाकुँ मैदानमा पहिलोपटक KPL, खुला टी–२० क्रिकेट प्रतियोगिता हुँदै

जुम्ला । जुम्लामा पहिलोपटक ओपन टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। ‘कर्णाली प्रिमियर लिग (KPL)’ नाम दिइएको प्रतियोगिता युथ फर कर्णाली क्लबको आयोजनामा सञ्चालन हुन लागेको हो।


प्रतियोगिता हाकुँ क्रिकेट मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ। जुम्ला तथा समग्र कर्णालीमा क्रिकेट खेलको विकास, स्थानीय प्रतिभाको पहिचान तथा प्रवर्द्धन र देशभरका खेलाडी तथा टोलीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।


युथ फर कर्णालीका अध्यक्ष मनोज भारतीका अनुसार जुम्लामा पहिलोपटक ओपन टी–२० प्रतियोगिता आयोजना गर्न लागिएकाले यसलाई खेलकुदसँगै जुम्लाको पहिचान र पर्यटन प्रवर्द्धनसँग पनि जोडिएको छ।


प्रतियोगितामा विभिन्न क्षेत्रबाट क्रिकेट टोली तथा खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। टी–२० फर्म्याटमा सेतो बल प्रयोग गरी खेलाइने प्रतियोगिताका लागि टोली दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ। टोली दर्ताको अन्तिम मिति असोज १७ गते रहेको छ।


प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। विजेता तथा उपविजेता टोलीका खेलाडीलाई पदक प्रदान गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि थप पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।


प्रतियोगितामा सहभागी दर्ता भएका खेलाडीलाई नियम तथा सर्तअनुसार ५० हजार रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराइनेछ ।

प्रतियोगिताका खेलहरू नेपाल लाइभ (Nepal Live) मार्फत प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरिएको छ। आयोजकले KPL लाई जुम्लाको क्रिकेट विकास, नयाँ प्रतिभाको पहिचान र खेल पर्यटन प्रवर्द्धनको नयाँ आधारका रूपमा अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस