जुम्लामा बाली उपचार शिविरः अधिकांश बालीमा रोग किराको प्रकोप

जुम्ला । रैथाने बाली तथा फलफूलको उत्पादन बढाउन जुम्लामा पहिलो पटक बाली उपचार शिविर संचालन गरिएको छ । बाली तथा फलफूल भित्रयाउने बेला विभिन्न रोगको संक्रमण हुने र उत्पादनमा गिरावाट आई किसानले घाटा व्यहोर्नुपर्ने समस्या रहेकाले बाली उपचार शिविर संचालन गरिएको हो ।

शिविरमा चन्दननाथ नगरपालिका वडा नं.७,८, र ९ का व्यावसायिक तरकारी खेतीमा आवद्ध भएका कृषक समूहका ३५ बढी किसानले उत्पादन गरेका तर रोग संक्रमण देखिएका स्याउ, सिमी, खुर्सानी, भान्टा, काउली, बन्दा, कोदो, काँक्रो, धनियाँ, फर्सी, लौका, रायो साग, टमाटर गरी १३ विभिन्न बालिका नमुनाको परिक्षण गरिएको थियो ।

दुई वर्ष पहिला तातोपानी गाउँपालिका वडा नं. ५ को लाम्रा ज्युलोमा भित्रयाउनै लागेको मार्सीधानमा ब्लाष्ट रोग लाग्दा ५ हेक्टर क्षेत्रफलको धान नष्ट भएको थियो । फलफूल तथा नगदेबाली संगै कार्तिकमा धानको रोग परिक्षण गर्नुपर्ने किसानले माग गरेका छन् ।

बुधबार आयोजना गरिएको शिविरमा स्याउको परिक्षण गर्दा बोक्रा खुइलिने रोग, मासोर्निय पाते ढुसी लाग्ने, भुवादार लाहि किरा लागेको र कत्ले किराको संक्रमण देखिएको थियो । खुर्सानीमा ब्याक्टेरियाजन्य ओइलाउने रोग, र कोत्रे ढुसीजन्य रोग अत्यधिक देखिएको, टमाटरमा पछौटे डढुवा रोग अत्यधिक रहेको,बन्दा÷ काउलीमा लाही र बन्दाको पुतली तथा ब्याक्टेरिया जन्य कुहिने रोग देखिएको छ । जसले गर्दा तरकारी बालीको उत्पादनमा ह्रास आउने गरेको छ ।

त्यस्तै सीमि र भान्टामा कोत्रेको समस्या देखिएको, फर्सी र लौकामा सूक्ष्म खाद्यन्न तत्व जस्तै क्याल्सियम र बोरोनको कमी देखिएको, काख्रोमा फल कुहाउने औसा तथा विषाणु देखिएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दिपक सिंह धामीले बताए ।

१३ वटा बाली, फलफूल र तरकारी बालीमा गरिएको परिक्षणमा रोग किराको संक्रमण बढ्दै गएकोदेखिएकोले रसायनिक विषादीको प्रयोगमा रोक लगाउनु पर्ने, मल विउ सिचाई तथा गोडमेलमा ध्यान दिनुपर्ने कृषि विज्ञले बताएका छन् ।

कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले जुम्लाको बालीनालीलाई रोग मुक्त र उत्पादन बढाउन निम जन्य बिषादी, निलोतुथो र चूना, विभिन्न जैविक विषादीको प्रयोग गर्न सुझव दिए । मोहनी पाँसो (क्यू लिउर, हेली लियुर , स्पोडो लीउर र भौतिक पासो (पहेँलो चिप चिपे पासो) र विभिन्न बालिका रोग तथा किरा व्यवस्थानको उपाय सिकाएका छन् ।

बाली उपचार शिविरले जुम्लाका फलफूल तथा बालीनालीमा पछिल्ला वर्षमा क्रमिक रुपमा रोग किराको प्रकोप बढ्दै गएको निष्कर्ष निकालेको छ । स्थानीयतहले जुम्लाको रैथाने उत्पादन बृद्धिमा संगै रोग किरा निवारणका लागि पनि नीतिगत व्यवस्था गरी लगानी बढाउनु पर्ने कृषि वैज्ञानिक भण्डारीले उल्लेख गरे ।

जुम्लाका आठै स्थानीयतहले उत्पादन सम्भावना र सिजन अनुसार सबै पालिकामा बाली उपचार शिविर राख्नु पर्नेमा समेत जोड दिएका छन् । जुम्लामै पहिलो पटक दिन कृषि विकास कार्यालय जुम्लाको आयोजना चन्दननाथ कृषि शाखा,कृषि अनुसन्धान केन्द्र विजयनगरर र कृषि खाद्य प्रणालीको लागि नवीकरणीय ऊर्जा (रेरास परियोजना तथा लिर्वड) को समन्व्य तथा सहकार्यमा बाली उपचार शिविर आयोजना गरिएको हो ।

किसान तुलराज गिरीले बालीनालीमा लागेका रोग किरा र निवारणका उपायका विषयमा जानकारी पाएपछि भविष्यमा सहज हुने बताए । भित्रयाउने बेलामै विभिन्न रोग लागेर बालीनै सखाप हुने, फलफूल तरकारी नष्ट हुने समस्या झेल्दै आएकोमा अब राहत हुने आशा व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस