जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह आसपासको पानसय पाटन क्षेत्रमा अचानक मौसम बिग्रिएर बाक्लो हिमपात भएपछि भेडा चराउन गएका ६ जना भेडीगोठाला सम्पर्कविहीन भएका छन्।
उच्च पहाडी क्षेत्रमा बिहीबारदेखि वर्षासँगै निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन्। हिमपात बढ्दै गएपछि गिडिदह आसपासका पाटन क्षेत्रमा चिसो अत्यधिक बढ्नुका साथै मौसम प्रतिकूल बनेको छ। सोही क्षेत्रमा भेडा चराउन पुगेका उनीहरू बिहीबार रातिदेखि परिवार तथा स्थानीयको सम्पर्कमा नआएको बताइएको छ।
स्थानीयका अनुसार सम्पर्कविहीन हुनेमा लालबहादुर रावत, सुरबहादुर रावत, अबिराज बोहरा, झुसे भण्डारी, दानबहादुर रोकाया र बृष धराला रहेका छन्। उनीहरू गिडिदह आसपासको गैरीगुम पाटन क्षेत्रमा भेडा चराउन गएका थिए।
पानसय पाटनअन्तर्गत पर्ने ढांग्रे, ऐरीझाल, गैरीगुम, दुधवाडी र डण्डमाकाँधलगायतका क्षेत्रमा समेत बाक्लो हिमपात भइरहेको स्थानीयले बताएका छन्। लगातारको हिमपातका कारण उक्त क्षेत्रमा आवतजावतसमेत कठिन बनेको जनाइएको छ।
सम्पर्कविहीन भएका भेडीगोठालाको अवस्था पत्ता लगाउन स्थानीयस्तरबाट खोजी तथा उद्धारका लागि पहल भइरहेको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय जुम्लाले समेत जानकारी संकलन गरिरहेको जनाएको छ। प्रतिकूल मौसमका कारण खोजी तथा उद्धारमा भने चुनौती देखिएको छ।




