हिमपातमा थुनिएका भेडीगोठालाको उद्धार गर्न टोली पाटनतर्फ

जुम्ला । जुम्लाको गिडिदह पाटन क्षेत्रमा बाक्लो हिमपातका कारण थुनिएका १३ जना भेडीगोठालाको उद्धारका लागि टोली पाटनतर्फ गएको छ।


हिमपातका कारण बाटो हिउँले ढाकिएपछि गोठालाहरू पाटनमै रोकिएका छन्। यसअघि सम्पर्कविहीन भएका ६ जना समेत अहिले प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरू सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ।


उद्धारका लागि प्रहरी सहायक निरीक्षक कालीबहादुर महतको नेतृत्वमा सात जना सुरक्षाकर्मी र एक जना नगर प्रहरीसहितको टोली परिचालन गरिएको छ। गोठालाका दुई जना आफन्त पनि टोलीसँगै पाटनतर्फ गएका छन्।


निरन्तर हिमपात भइरहेकाले चिसो बढेको र थप हिउँ परे जोखिम बढ्न सक्ने भन्दै गोठालाहरूले तत्काल उद्धारको आग्रह गरेका छन्। कठिन भौगोलिक अवस्था र बाक्लो हिउँका कारण उद्धार टोलीलाई गन्तव्यसम्म पुग्न चुनौती रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस