म एउटा बूढा बाबा–आमाको मायालु छोरा, दिदीबहिनीको धनी मान्छे म । दाइको कान्छो भाई । घरको सबैभन्दा कान्छो, सबैको प्यारो… तर आज त्यही घर र आफ्ना मान्छेहरूभन्दा कैयौँ दुरी टाढा, परदेशमा एक्लै छु । यी हरफका पंकीहरु चन्दननाथ नगरपालिका – ७ मिचागाउँ जुम्लाका लोकजंग खत्रीका हुन् ।
अध्ययनसँगसँगै वैदेशिक रोजगारीका लागिपरदेश पुगियो, सानो छँदा लाग्थ्यो—घर भनेको सधैं यस्तै हुन्छ, बाबा–आमा सधैं जवान हुनुहुन्छ, दिदी–दाइहरू सधैं वरिपरि हुन्छन् । समय बित्दै जाँदा सबै आ–आफ्नो जीवनको बाटोमा लागे । कोही आफ्नो घरबारमा, कोही आफ्नै जिम्मेवारीमा… अनि म पनि आफ्नो भविष्य बनाउन परदेशिएँ ।
तर कहिलेकाहीँ परदेशको कोठामा एक्लै बसेर सोच्दा मन साह्रै दुख्छ । सबै जना आफ्नो–आफ्नो जीवनका लागि टाढा हुँदै गएपछि, घरमा बाँकी रहेका ती बूढा बाबा–आमाले एकअर्काको सहारा बनेर कति एक्लोपन भोगिरहनु भएको होला ?
यो कुरा सम्झिँदा मनभित्र कताकता चसक्क हुन्छ । हरेक चाडपर्व आउँछ ।
घरमा खुसीको वातावरण हुन्छ होला । तर मेरो मनमा भने एउटा खालीपन आउँछ । रक्षाबन्धन आउँदा दिदीबहिनीका हातमा राखी बाँधिन्छन्, भाइहरूको हात सजिन्छन् । अनि म परदेशको कोठामा आफ्नै हात हेरेर बस्छु—मेरो हातमा आज पनि राखी छैन ।
दिदीबहिनीको माया सम्झिन्छु । बाल्यकाल सम्झिन्छु । सबै जना मिलेर हाँसेका दिनहरू सम्झिन्छु ।
अनि मनले सोध्छ— “कहिले फेरि त्यही दिन फर्किएला?” जनैपूर्णिमा आउँछ, दशैं आउँछ, तिहार आउँछ । घरमा दिदीबहिनी, दाइभाई, बाबा–आमा सबै एक ठाउँमा बसेर रमाइरहेका होलान् । तर म भने परदेशको भिडमा भएर पनि आफ्नै मान्छेहरू नभएको एकान्तमा हुन्छु ।
दशैंमा टीका र जमरा लगाउने निधार खाली हुन्छ । अरूका निधारमा रातो टीका देख्दा आफ्ना बाबा–आमाको हात सम्झिन्छु । आमाले मायाले टीका लगाइदिएको त्यो पल सम्झिन्छु । बाबाको आशीर्वाद सम्झिन्छु । त्यतिबेला मनले एउटा कुरा मात्र भन्छ— “धन कमाउन त परदेश आएँ, तर आफ्ना मान्छेहरूसँग बिताउने समय पो गुमाउँदै छु कि ?”
परदेशमा कमाएको पैसा घर पुग्छ होला, तर मेरो उपस्थिति पुग्दैन । मैले पठाएको सामान पुग्छ होला, तर मेरो अँगालो पुग्दैन । फोन पुग्छ, आवाज पुग्छ, तर बाबा–आमाको छेउमा बसेर हात समाउने त्यो आफ्नोपन पुग्दैन ।
सबैको आफ्नै जीवन छ । सबै आ–आफ्नो जिम्मेवारीमा छन् । कसैलाई दोष दिन पनि मिल्दैन । तर मन त आखिर मन नै रहे —कहिलेकाहीँ आफ्ना सबै मान्छेहरूलाई एउटै ठाउँमा देख्न खोज्दो रहेछ ।
म आज पनि त्यही घरको कान्छो छोरा हुँ !
त्यही बाबा–आमाको मायालु छोरा !
त्यही दिदीबहिनीहरूको प्यारो भाइ !




