जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति सूर्यमान मेन्याङ्बो र रजिस्ट्रार प्रकाशचन्द्र खत्रीलाई नेपाल पत्रकार महासंघ शाखा जुम्लाले बधाई ज्ञापन गरेको छ। महासंघले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानको वर्तमान अवस्था, सेवा प्रवाह, व्यवस्थापन तथा आगामी कार्यदिशाका विषयमा समेत छलफल गरिएको छ।
भने पत्रकारितामा विधाबारिधि पिएचडी पास गरेका पत्रकार लक्ष्मी प्रसाद देवकोटा(एलपी) लाइ समेत बधाई तथा सम्मान व्यक्त गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका नवनियुक्त रजिस्ट्रार प्रकाशचन्द्र खत्रीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिरबाट हेर्दा जति सुन्दर र व्यवस्थित देखिए पनि भित्र भने धेरै पक्षमा सुधार गर्नुपर्ने अवस्था रहेको बताएका छन्।
बाहिरबाट हेर्दा जति सुन्दर र राम्रो देखिन्छ, भित्र त्यति नै राम्रो छैन। धेरै कुराको व्यवस्थापन हुन बाँकी रहेको पाएँ,खत्रीले भने बाहिरबाट आउनुअघि मैले जे सोचेको थिएँ, यहाँ आएपछि अवस्था त्यसभन्दा फरक र चुनौतीपूर्ण पाएँ।

उनले अब विगतको अवस्थालाई दोष दिएर बस्ने छुट आफूहरूलाई नभएको भन्दै प्रतिष्ठानको व्यवस्थापन, सेवा प्रवाह र समग्र प्रणालीलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
अब हामी आयौँ भनेर मात्र हुँदैन। भएका कमजोरी सुधार गर्दै प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्छ उनले भने।
खत्रीले प्रतिष्ठानका सेवा–सुविधालाई प्रभावकारी बनाउने, स्वास्थ्य सेवाको गुणस्तरमा विशेष ध्यान दिने तथा संघीय र स्थानीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताए।
नेपालका आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अब्बल र उत्कृष्ट बनाउने चुनौती आफूहरूसँग रहेको भन्दै उनले त्यसका लागि आफ्नो टिम योजनाबद्ध रूपमा अघि बढिरहेको बताए।
यो प्रतिष्ठानलाई अब्बल र उत्कृष्ट बनाउनु हाम्रो प्रमुख चुनौती हो। त्यसका लागि टिम लागिरहेको छ। आगामी दिनमा पत्रकारहरूसँग पनि अझ ठूलो समन्वय र सहकार्य गर्दै अघि बढ्छौँ रजिस्ट्रार खत्रीले भने।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीकै महत्वपूर्ण सम्पत्तिका रूपमा स्थापित भएको बताए। प्रतिष्ठानको संरक्षण, सुधार र विकासमा सबै पक्षको साझा जिम्मेवारी रहेको उनको भनाइ थियो।




